विशेष प्रदेश नम्बर ५ का अतिसंवेदनशील रुकुम पूर्व र रोल्पामा कस्तो भयो चुनाव ?
Ujyaalo

काठमाडौं, मंसिर १० – आइतबार प्रदेश नम्बर ५ का पुर्वी रुकुम र रोल्पामा चुनाव भएको छ । यी जिल्लामा एक एक वटा मात्रै निर्वाचन क्षेत्र छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामा २६ वटा निर्वाचन क्षेत्र रहेकोमा आइतबार पुर्वी रुकुम र रोल्पाका २ वटा क्षेत्रमा मात्रै चुनाव भएको हो ।

यो क्षेत्रलाई सुरक्षाको हिसावले अतिसंवेदनशील मानिएको थियो । तर तुलनात्मक रुपमा त्यस्ता घटना भएनन् ।५ नम्बर प्रदेशमा पहिलो चरणमा १ सय ११ वटा मतदान स्थलका २ सय २ वटा मतदान केन्द्रमा चुनाव भएको हो ।

प्रदेश नम्बर ५ मा जम्मा २७ लाख ४० हजार ८ सय ६४ जना मतदाता रहेकोमा आइतबार चुनाव भएको क्षेत्रमा १ लाख ५५ हजार ५ सय ५७ जना मतदाता रहेका थिए ।

रुकुम पूर्व

रुकुम पूर्वमा ६५ प्रतिशत मत खसेको छ । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेकामा झन्डै १९ हजार मत खसेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । स्थानीय तहको चुनावमा रुकुममा ७५ प्रतिशत मत खसेको थियो ।

रुकुम पूर्विभागमा शान्तिपूर्ण रुपमा चुनाव सकिएको छ । अहिले मतपेटिका संकलनको काम भैरहेको छ ।

तर रुकुमकै पश्चिम भागमा भने विवादका कारण पटक पटक मतदान स्थगित गर्नुपर्यो । २ वटा मतदान केन्द्रका दुईवटा मत पेटिकामा आगो लगाएपछि २१ गते पुनः चुनाव हुने भएको छ ।

रोल्पा

रोल्पामा ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको र ५५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

एक लाख २७ हजार ६ सय २९ जना मतदाता रहेको रोल्पामा ७० हजार ३ सय २१ मत खसेको छ । तर रोल्पाकै थबाङमा भने ३० प्रतिशत मात्रै मत खसेको छ । निर्वाचन बहिष्कार गर्ने गाउँको रुपमा चिनिएको थवाङमा २ हजार ७ सय ७२ मतदाता रहेकोमा ८ सय २२ मत मात्रै खसेको हो ।

रोल्पामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । चुनावअघि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ठाउँ ठाउँमा बम विष्फोट र उम्मेदवारमाथी आक्रमण गरेपनि मतदानमा भने प्रभाव परेन । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिएको रोल्पाका विभिन्न स्थानमा बम विष्फोट भएपनि कुनै क्षतिभने भएन ।

(उज्यालो सहकर्मी आदर्श केसी (रुकुम) र माधवकुमार ओली (रोल्पा) को सहयोगमा)

 

 

Share It

Post Comments
थप विशेष