विशेष १५ सालमा भोट हालेका मतदाता भन्छन् : नेता अहिलेका नि उस्तै, उहिलेका नि उस्तै
Ujyaalo

मदन पौड्याल/उज्यालो ।

काठमाडौं, मंसिर १२ – सेतै फुलेका कपाल, कालो भादगाउँले टोपीले छोपिएको छ । धमिला आँखालाई पनि चस्माको सहारा हो । लौरो टेकेर पारिलो घाम ताप्न पाटन दरबार आइपुगेका रामप्रसाद अमात्य ललितपुर मंगलबजारका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ ८२ वर्षको हुनुभयो । पहिलो आमचुनावमा उहाँ २३ वर्षको हुनुहुन्थ्यो । उहाँले २०१५ सालको भोट खसालेको मट्टितेलको टिनको बाकस सम्झिदै भन्नुभयो ‘अहिले जस्तो अरुले दिएका बाकस हुँदैनथे अनि सिल भन्ने पनि देखिएन ।’

उहाँकै भनाईमा उमेरले ४ बिस नेटो काटिसक्यो, दुई काल र दुई तन्त्र भोगिसक्दा पनि देशले फड्को भने मार्न सकेन । दुईकाल राणाकाल र पञ्चायतकाल अनि दुई तन्त्र प्रजातन्त्र र गणतन्त्र हुन् । नेताहरू भोट माग्दै आएर विकास र समृद्धिका कुरा गर्दा अब त केही हुन्छ कि भन्ने आशा पलाउँदो रैछ । जोसिलो पारामा अमात्यले भन्नुभयो, ‘तर बचन अनुसारको काम भएको छैन तैपनि चुनाव हो भोट हालेर अधिकारको सदुपयोग गर्नुपर्छ ।’

नेपालमा पहिलो पटक २००४ सालमा चुनाव भएको इतिहास छ । तर राणा शासन अन्त्यपछि २०१५ सालमा भएको आम चुनावलाई पहिलो मानिन्छ । त्यसपछि जनमत संग्रह, प्रतिनिधिसभा, संविधानसभालगायतका चुनाव भैसकेका छन् । अहिले पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको चुनाव भैसकेको छ भने दोस्रो चरणमा ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ । स्थानीय तह, प्रतिनिधि र प्रदेशसभा चुनावले यो वर्ष चुनावी वर्ष भएको छ । एकै वर्ष तीन चुनावमा सहभागी हुँदै गर्दा उ बेलाको चुनाव र अहिलेको चुनावमा पाकापुस्ताको आफ्नै खाले अनुभव छ ।

१९९० सालमा बनेपाको घोगेचौरमा जन्मिनुभएकी शान्ति थापाले पनि पहिलो चुनावमा भोट खसाल्नुभएको हो । त्यस ताका भोट खसाल्ने थोरै हुँदा अहिले जस्तो भिड हुँदैनथ्यो । पाल टाँगेर भोट खसाल्ने ठाउँ खडा गरिन्थ्यो । त्यति बेला धानको बाला, मकैको घोगा, घन, कोदालो, हलो, हात, हंसिया झुपडी जस्ता चुनाव चिन्ह थिए । त्यसपछिका चुनावमा पनि भोट हाल्न कहिल्यै छुटेको छैन । नेताले दिने गरेका विकासका आश्वासन सकिएका छैनन् । १५ सालदेखि हाम्रो माग र नेताको आश्वासन एउटै छ,’ उहाँले दुखेसो पोख्नुभयो, ‘व्यवस्था फेरिए पनि हाम्रो समस्या कहिल्यै समाधान भएन ।’

ललितपुर महालक्ष्मी नगरपालिका टिकाथलीका बलराम केसीले त झन् राणाकालमा भएको पहिलो चुनाव समेत देख्नुभयो । तर भोट खसाल्ने अवसर भने जुरेन । राणा शासनको अन्तिम समय २००४ साल जेठ ३ गते म्युनिसिपालिटीको नाममा चुनाव भएको थियो । अहिले ८५ वर्षीय केसीले पनि २०१५ सालको चुनावमै पहिलो पटक भोट खसाल्नुभएको हो ।

अहिलेजस्तो संरचना थिएन भने ठाउँ विशेष वा पूर्व–पश्चिम, उत्तर, दक्षिण गर्दै क्षेत्र छुट्याइएको थियो । उति बेला फलानो दिन भोट हाल्ने हो सबै काम सकेर आउनु भन्थे । गाउँलेहरू जमघट भएर मतदान केन्द्रमा पुग्थे । तर अहिले जस्तो प्रचार र घरदैलो भने हुँदैनथ्यो । २०१५ सालमा बाटोघाटो, पुलपुलेसा, टोल तथा बस्तीमा धाराकुवा, कुलोको माग गरिएको थियो । नेता उहिलेका न अहिलेका सबै उस्तै हुन् ।

यसो भनिरहँदा उहाँका आफ्नै तर्क छन् । अहिलेसम्म नागरिकलाई ढाँट्ने मात्रै काम भयो । अहिले चुनावी प्रक्रियामा धेरै भिन्नता आइसकेको छ । तर उबेला पनि नेताले आश्वासन दिन्थे अनि अहिले पनि दिइरहेका छन् । पाकापुस्ता भन्छन्–जमाना अनुसारको विकासले फड्को मार्न भने सकेको छैन ।

 

Share It

Post Comments
थप विशेष