विशेष गच्छदारले किन फेरे प्रचार शैली ? रहर कि बाध्यता ?
Ujyaalo

सुमन पुरी/उज्यालो ।

सुनसरी, मंसिर १२ – विजय गच्छदारको चुनावी प्रचार शैली देखेका सुनसरी –३, का कांग्रेस कार्यकर्ता आजभोलि छक्क परिरहेका छन् । कारण हो गच्छदारको फेरिएको चुनावी प्रचार शैली ।

यतिबेला अन्य उम्मेदवारको भन्दा गच्छदारको चुनाव प्रचारको शैली फरक छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि भएका सवै चुनावमा विजय हासिल गर्नुभएका गच्छदारको चुनावी प्रचारको शैली थियो चुनावको मिति भन्दा केहिदिन अघिमात्रै प्रचारप्रसार गर्नु । केही ठाउँमा कार्यक्रता भेला गर्नु, आफ्ना विश्वास गरिएका नेता तथा कार्यकर्ताको घरमा पुगेर मतदातालाई विश्वस्त पार्नु ।

यही चुनावी प्रचार शैलीले सुनसरी –३, बाट गच्छदारले ०४८ सालको आमचुनाव, ०५१ सालको मध्यावधि चुनाव, ०५६ सालको संसदीय चुनाव र २ वटै संविधानसभाको चुनावमा विजय हुनुभयो । कांग्रेस, फोरम नेपाल र फोरम लोकतान्त्रिकबाट चुनाव लड्दासमेत उहाँको चुनावी प्रचारको शैलीमा फरक थिएन । स्थानीय तह चुनावमा पनि गच्छदारले आफ्नो प्रचार शैलीलाई परिवर्तन गर्नुभएन । ठूलठूला चुनावीसभा, क्षेत्रीयसभा र घरदैलोमा विश्वास नगर्ने गच्छदार यसपालीको चुनावमा भने यसैमा विश्वास गरिरहनु भएको छ । ०७० सालको संविधानसभाको चुनावमा चुनाव हुनुभन्दा तीन दिनअघि चुनावी क्षेत्रमा आउनु भएका गच्छदार यस पटक भने २२ दिन अघिदेखि निरन्तर चुनावी प्रचारमै हुनुहुन्छ ।

गच्छदारका आफन्त तथा सहयोगी बेद गच्छदारले समय अनुसार चुनावी प्रचारको शैली फेरेको बताउनुभयो । अहिले गच्छदार घरदैलो, टोलभेला र स–सना चुनावी सभालाई सम्बोधन गरिरहनुभएको छ । गच्छदारको चुनावी शैलीलाई ०५६ सालदेखि सहयोग गर्दै आउनुभएका कांग्रेसका एकजना जिल्ला नेताले भन्नुभयो – ‘विजय दाईको आफ्नै चुनावी प्रचारको शैली थियो । हरेक टोल टोलका अगुवासँग सम्पर्क बनाउनु र अगुवा मार्फत चुनावी प्रचार गर्नु ।’ यस पटक भने अन्य उम्मेदवारले जस्तै घरदैलो कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।

रहर कि बाध्यता ?

गच्छदारको फेरिएको चुनावी प्रचारको शैलीलाई धेरैले बाध्यता भएको बुझेका छन् । ०७० सालको चुनावमा गच्छदार सुनसरी –३, मा विजयी हुँदा ६६ मतको मात्रै मतान्तर थियो । ०४८ सालदेखिको चुनावदेखि विजय भएका गच्छदारलाई ०७० सालको चुनावमा चुनौती दिनुभएको थियो एमाले नेता भगवती चौधरीले । गैरसरकारी संस्था फरवार्डमार्फत सुनसरी –३, का महिलासँग काम गरिरहनु भएकी चौधरी यस पटक पनि गच्छदारसँग चुनावी मैदानमा हुनुहुन्छ ।

गच्छदारसँग संघीय समाजवादी फोरम नेपालका पदम अधिकरी र राजपाका मनिष रौनियार प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने चौधरीसँग रहने अनुमान गरिएको छ । फरवार्ड कम्युनिटी बैंक मार्फत लघुवित्त कार्यक्रम गरिरहनु भएकी चौधरीको त्यस क्षेत्रका विपन्न महिलासँग नजिकको सम्बन्ध छ । यो सम्बन्धका कारण पनि चौधरीलाई पार्टीको भन्दा व्यक्तिको भोट बढी जाने अनुमान गरिएको छ । विपन्न नागरिकसँग निकटको सम्बन्ध बनाएकी चौधरीले यस पटकको चुनानमा पनि गच्छादारलाई चुनौती दिने अनुमान गरिएको छ । लामो समयसम्म आफ्नो पक्षमा नतिजा पारिरहेका गच्छादारले पनि निर्वाचन क्षेत्रमा काम गर्दा पार्टीभन्दा माथी उठेर काम गरेकोले मतदातालाई आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ ।

स्वर फरक एजेन्डा एउटै

चुनावी प्रतिस्पर्धामा रहेका गच्छदार र भगवती चौधरीको मुख्य एजेन्डा भनेको विकास निर्माण नै हो । गच्छदार आफू केन्द्रीय राजनीतिमा सक्रिय रहेकाले सुनसरीको विकास गर्न आफूले मात्रै सक्ने बताउनुहुन्छ । गच्छदारले इटहरीलाई प्रदेश राजधानी र महानगरपालिका बनाउने आश्वासन दिनुभएको छ । यसबाहेक इटहरीको डुवान समस्याको हल गर्ने गच्छदारको एजेन्डा हो । चौधरीले भने सुनसरी –३, लाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने इटहरीमा उत्पादन भएका कृषि सामग्रीको बजारीकरण गर्ने आश्वासन दिनुभएको छ । विपन्न समुदायको आर्थिक वृद्धिका लागि आफूले काम गर्ने चौधरीले बताउदै आउनु भएको छ ।

यस्तो छ चुनावी अंकगणित

संविधानसभा चुनावमा ३ नम्बर क्षेत्रमा साविकको सोनापुर, दुहवी, सिमरिया, औरावनी, मधेली, भलुवा, पुर्वकुशाहा, छिटाहा, चिमडी, अमाहीवेला, अमडुवा, चाँदवेला गाविस रहेका थिए । अहिले यस क्षेत्रमा इटहरी उपमहानगरपालिकाका १० वटा वडाहरु साविकको सत्तेरझोरा गाविस थप भएका छन । स्थानीय तहको चुनावमा फोरम लोकतान्त्रिकले दुहवी नगरपालिका, बर्जु गाउँपालिकामा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले गढी गाउँपालिकामा जित हासिल गरेको थियो ।

दुई दलले छुट्टाछुट्टै रुपमा चुनाव लडेको अवस्थामा समेत एमालेले स्थानीय तहमा जित हासिल गर्न नसकेका कारण यस क्षेत्रमा एमाले कमजोर रहेको आकलन गरिएको छ । स्थानीय तह चुनावको आधारमा सुनसरी –३, मा नेपाली कांग्रेसको २१ हजार ५ सय ७७ , फोरम लोकतान्त्रिकको १७ हजार ६ सय ७३ र राप्रपाको १ हजार ८ सय ८९ मत रहेको छ भने नेकपा एमालेको पक्षमा २० हजार २७ मत, नेकपा माओवादी केन्द्रले ५ हजार ९ सय ९३ मत रहेको छ । यसरी हेर्दा यो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलको ३९ हजार २ सय ५० मत र वाम गठबन्धनको २६ हजार २० मत रहेको देखिन्छ । स्थानीय तह चुनावको आधारमा भने यो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन बलियो अवस्थामा रहेको छ ।

Share It

Post Comments
थप विशेष