विशेष मतपेटिका थन्क्याएर कोही उम्मेदवार घर फर्किए, कोही लागे दोश्रो चरणको चुनावतिर
Ujyaalo

उजिर कार्की/उज्यालो ।

काठमाडौं, मंसिर १२– पहिलो चरणमा चुनाव भएका जिल्लामा राजनीतिक गतिविधि सुनसान हुन थालेको छ । मतपेटिका थन्क्याएर प्रभावशाली नेता दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा पार्टीको प्रचारमा खटिन थालेका छन् ।

केही नेता जिल्ला सदरमुकाममा छन् भने केही उम्मेदवार मतगणना सुरु नहुन्जेललाई घर फर्किएका छन् । प्रभावशाली नेतालाई सबै पार्टीले दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा खटाउने भएका छन् । तर कम प्रभाव रहेका नेता भने कोही जिल्लाको सदरमुकाममा मतगणनाको दिन कुरेर बसेका छन् ।

रसुवाका उम्मेदवार आचार्य गाउँ फर्किए, ढकाल गए काठमाडौं

रसुवामा आइतबारसम्म सक्रिय भएका वाम र लोकतान्त्रिक गठबन्धन अहिले निष्क्रिय जस्तै छन् । मतदान सकिए लगत्तै मतपेटिकासँगै नेता सदरमुकामतिर लागेपछि गाउँघरमा चहलपहल हराएको छ । मतपेटिका रुँग्न केही कार्यकर्तालाई पालो लगाइएको छ । केही नेता राजधानी फर्किसकेका छन् ।

वाम गठबन्धनबाट प्रदेशसभा २ मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गौतम जगतजंग सदरमुकाम धुन्चेमा हुनुहुन्छ भने प्रतिनिधिसभाका एमाले उम्मेदवार जनार्दन ढकाल काठमाडौं जानुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य रसुवाको उत्तरगया गाउँपालिकास्थित लहरेपौवामा घरमा नै बसिरहनुभएको छ । मतगणना सुरु नहुँदासम्म राजनीतिक गतिविधि नहुने भएकाले कार्यकर्तालाई मतपेटिका रुँग्न लगाएर उहाँ गाउँ फर्किनु भएको हो ।

‘सदरमुकाममा आवश्यकताभन्दा बढी कार्यकर्ता परिचालन नगर्ने योजना बनाएका छौ’ प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले भन्नुभयो, ‘मतगणना ढिलो हुँदा कुनै पनि असर पर्छ जस्तो लाग्दैन्, मतपेटिकाको सुरक्षाको मात्र चिन्ता हो, ३÷४ जना प्रतिनिधि राखेका छौं ।’

नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले पनि कार्यकर्ता बढी परिचालन गर्नुपर्ने अवस्था नभएको बताउनु भयो । मतपेटिकाको निगरानी बाहेक कुनै पनि गतिविधि नगर्ने उहाँले बताउनुभयो ।

यसअघि भएको चुनावमा मतदान सकिए लगत्तै मतपेटिका संकलन गर्नासाथ मतगणना सुरु भए पनि यसपल्ट दोश्रो चरणकोच चुनाव भएपछि मात्रै गणना गरिने भएकाले मत परिणामको पर्खाई लम्बिएको हो । मतगणना ढिलो हुँदो खर्च बढ्ने चिन्ता दलहरुलाई छ ।

वाम गठबन्धनका एक नेताले भने, ‘नौ दिनसम्म कार्यकर्ता पाल्नुपर्छ, गणना अवधिभर पनि नेता, कार्यकर्ता परिचालन गर्दा खर्च कम हुँदैन ।’ जिल्लाका ३२ हजार तीन सय २२ मतदातामध्ये २६ हजार एक सय १४ जनाले मतदान गरेका छन् । रसुवामा प्रतिनिधिसभाको एक र प्रदेश सभाका दुई सदस्यका लागि २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । तर लोकतान्त्रिक र वाम गठबन्धनले आफूले जित्ने दाबी गर्दै आएका छन् ।

तेह्रथुम तरे भट्टराई, झापा झरे दाहाल

हिमाली जिल्ला ताप्लेजुङमा पनि चुनाव सकिएपछि सदरमुकाममा भेला भएका नेता कार्यकर्ता अड्कलबाजी गर्न थालेका छन् । उम्मेदवार भने विभिन्न कार्यक्रममा व्यस्त छन् । प्रतिनिधिसभाका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका सचिव योगश भट्टराई दोश्रो चरणको चुनावमा खटिनु भएको छ । भट्टराई चुनावको प्रचारमा तेह्रथुम पुग्नु भएको छ ।

उहाँले मंगलबार तेह्रथुमको संक्रान्तीमा आयोजित आमसभालाई सम्बोधन गर्नु भयो । बुधबार तेह्थुमको म्याङ्लुङ बजारमा संम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दोश्रो चरणको चुनावमा भोजपुर, धनकुटा, मोरङ, सुनसरी तथा झापामा संबोधन गर्ने सचिव भट्टराईले बताउनुभयो ।

भट्टराईका मुख्य प्रतिस्पर्धी नेपाली काग्रेसका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाले आफू मतगणना हुनुभन्दा अगाडिको समयलाई झापाको क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाको चुनाव प्रचारमा खटिनु भएको छ । झापाको क्षेत्र नम्बर ३ मा सिटौलालाई जिताउन लागि पर्ने दाहालले बताउनुभयो । ताप्लेजुङ भट्टराई र दाहालले नै आफू जित्ने दाबी गरेका छन् ।

लमजुङका दुबै उम्मेदवार दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा जाने

पहिलो चरणमै चुनाव भएको लमजुङमा दुवै गठबन्धनका हेभिवेट नेता प्रतिस्पर्धामा छन् । माओवादीका देवप्रसाद गुरुङ र नेपाली कांग्रेसका दिलबहादुर घर्ती उम्मेदवार बन्नु भएको हो । । मतदान सकिए पनि मतगणना अझै ९ दिनपछि हुने भएपछि दुवै नेता दोश्रो चरणको चुनाव हुने क्षेत्रमा खटिने भएका छन् ।

कांग्रेसका पुराना नेता दिलबहादुर घर्ती राज्य व्यवस्था समितिको सभापति हुनुहुन्थ्यो भने देवप्रसाद गुरुङ कानुन र स्थानीय विकास मन्त्री बन्नु भएको थियो ।

दुबै नेताले दोश्रो चरणमा चुनाव हुने ठाउँका पार्टीले निर्णय गरेका क्षेत्रमा खटिने बताउनु भएको छ । दिलबहादुर काठमाडौं फर्किसक्नु भएको छ भने, गुरुङ पार्टिको निर्देशन पर्खिरहनु भएको छ ।

उहाँले भन्नुभयो ‘आफ्नो क्षेत्रमा राम्रै खटियो, चुनाव पनि जितिन्छ, अव साथीहरुलाई सहयोग गर्छु ।’ गुरुङले एमालेसँग मिलेका कारण चुनाव जित्ने बताउनु भएको छ ।

अर्का नेता दिलबहादुर घर्तीले पनि आफूले चुनाव जित्ने दावी गर्नुभयो । लमजुङ जिल्ला नेपाली कांग्रेसको किल्ला भएकाले आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाई छ ।

चुनाव सकिए पनि धेरै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दावी गर्न छाडेका छैनन् । तर वास्तविक विजेता थाहा पाउन भने झण्डै दुई हप्ता पर्खिनु पर्ने भएको छ ।

(उज्यालो सहकर्मी केशव भट्टराई (ताप्लेजुङ) र श्यामशितल परियार (लमजुङ) को सहयोगमा)

Share It

Post Comments
थप विशेष