विशेष बर्दिया चुनावी रौनक बढ्दै, भोट माग्न घरदैलोमा उम्मेदवार
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर १३ – मंसिर महिना सुरु भएसँगै बर्दियामा चिसो बढ्दै गएको त छ । चिसोसँगै मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोल बढ्दै गएको छ । बर्दियाका दुवै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका चारैजना मन्त्री बनिसकेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएर प्रचार प्रसारलाई तिब्रता दिएपछि चुनावी माहोल झनै बढ्दै गएको हो ।

अहिले बर्दियाका मुख्य चोक, चौतारा र चिया पसलमा चुनावकै चर्चा छ । कसले जित्छ र कसले हार्छ भन्ने अड्कलबाजी चलिरहेको छ भने उम्मेदवार मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । यसपटक उम्मेदवार नाराबाजी र आमसभा भन्दा पनि गाउँगाउँ पुगेर कार्यकर्ता भेला कार्यक्रम र घरदैलो अभियानमा व्यस्त देखिएका छन् ।

उम्मेदवारी दिएकै भोलिपल्टदेखि नेपाली कांग्रेसले ठाउँठाउँमा कार्यकर्ता भेला गर्दै कार्यक्रम गर्दै आएको छ । बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति सञ्जय कुमार गौतम गाउँगाउँमा कार्यकर्ता भेलामा दौडिनु भएको छ । लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गौतम सिँचाई मन्त्री हुनुहुन्छ । कांग्रेसलाई जिताउन भन्दै कांग्रेसका भ्रातृ संगठनहरु पनि चुनावी गतिविधिमा निकै सक्रिय देखिएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले पनि क्षेत्रगत रूपमा संयुक्त कार्यकर्ता भेला गरिरहेका छन् । बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार बामदेव गौतम गाउँगाउँमा कार्यकर्ता भेलामा दौडिनु भएको छ । वाम गठबन्धनलाई जिताउन भन्दै एमाले र माओवादी केन्द्रका भ्रातृ संगठनहरू संयुक्त रूपमा भेला बैठकमा जुटेका छन् ।

बर्दियामा यसपटकको चुनाव निकै रोचक हुने देखिएको छ । सक्षम र प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । दुई क्षेत्रका चारै जना उम्मेदवार मन्त्री बनिसकेका छन् । बर्दिया क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार बामदेव गौतम र कांग्रेसका जिल्ला सभापति सञ्जयकुमार गौतमबिच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा दुवै गौतम निकै प्रभावशाली मानिन्छन् । यस क्षेत्रलाई वाम गठबन्धनले आफ्नो पकड क्षेत्र मान्दै आएको छ भने यो चुनावमा वाम पकड क्षेत्रलाई भत्काएरै छाड्ने दाउमा कांग्रेस लागेको छ ।

यस्तै बर्दियाको क्षेत्र नम्बर २ मा पनि चुनावी माहोल मौलाएको छ । यस क्षेत्रमा पनि दुई मन्त्री चुनावी मैदानमा होमीएपछि चुनावी माहोल निकै तातेको हो । प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवार थारू समुदायको भएकाले झनै रोचकता थपिएको छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहित र वाम गठबन्धनबाट माओबादी केन्द्रका बिना विभागीय मन्त्री सन्तकुमार थारू उम्मेदवार बन्नुभएको छ ।

दुवै थारू उम्मेदवार एकै क्षेत्रबाट चुनावमा उठेपछि उनीहरूको बसाई भने बबई र कर्णाली नदीले छुट्याएको छ । गोपाल दहित बबई र कर्णाली नदी पारिका हुनुहुन्छ भने सन्तकुमार थारू वारीका । दहितलाई कर्णाली र बबई नदी वारिका मतदाताको चिन्ता छ भने थारूलाई पारिका मतदाताको । यस क्षेत्रमा दुबै जना थारु उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा थारू समुदायको बाहुल्य रहेकाले कुन थारू उम्मेदवारले बाजी मार्ने हो, सबैमा चासोको विषय बनेको छ ।

प्रदेशसभाका लागि पनि क्षेत्र नम्बर १ को (क) मा वाम गठबन्धनबाट एमालेका कबिराम थारु र (ख) बाट माओवादी केन्द्रका तिलकराम शर्मा (हिमाल) चुनावमा उठ्नुभएको छ । यसैगरी क्षेत्र नम्बर १ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सोदे बिष्ट र (ख) मा कांग्रेसका मंगलप्रसाद थारु चुनावी प्रचारप्रसार गर्न गाउँगाउँमा चुनावीसभा र घरदैलो अभियानमा हुनुहुन्छ ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को (क) बाट वाम गठबन्धनबाट एमालेका कुलप्रसाद पोख्रेल र (ख) बाट माओबादी केन्द्रका दिपेश थारु (राजेश) ले उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नम्बर २ को (क) मा लोकतान्त्रिक गठबन्धनकाबाट कांग्रेसका रामचन्द्र थापा र (ख) मा कांग्रेसका नाचुराम चौधरी चुनावी मैदानमा होमिनु भएको छ ।

नयाँ शक्ति पार्टीबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार केशव पौडेल र क्षेत्र नम्बर २ मा मोहनलाल चौधरीले उम्मेदवारी दिनुभएको छ । दुवै उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।

नयाँ शक्तिका उम्मेदवारहरु स्थायी सरकार निर्माण, बिदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने अधिकार, भ्रष्टचार नियन्त्रण, प्राकृतिक सम्पदा र थारु संस्कृतीको जर्गेना लयायतका मुख्य बुँदा अघि सारेर चुनावी प्रचार प्रसारमा दौडिएका हुनुहुन्छ ।

बर्दियामा प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ निर्वाचन क्षेत्र रहेका छन् । बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदाता छन् । स्थानीय तहको चुनावपछि बर्दियामा १९ हजार २ सय ८९ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

Share It

Post Comments
थप विशेष