विशेष उम्मेदवार र कार्यकर्ता भोट माग्छन्, तर भोट खसाल्न सिकाउँदैनन्
Ujyaalo

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, मंसिर ६ – आउँदो आइतबार र मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दल तथा उम्मेदवारहरुले प्रचारप्रसारलाई उत्कर्षमा पुर्‍याएका छन् ।

दलका कार्यकर्ताहरु दिनरात नभनी आफ्ना उम्मेदवार जिताउन लागि परेका छन् । अझ पछिल्ला केही दिनयता त घरघर पुगेर भोट माग्ने क्रम झन बढेको छ । उम्मेदवार र दलले मतदाताको घर घरमा पुगेर भोट मागे पनि भोट कसरी खसाल्ने भनेर मतदातालाई सिकाएका छैनन् । उम्मेदवारहरु बाजागाज र दलबलसहित मतदाताको घर घरमा पुगेर आफ्ना लागि एक भोट दिन आग्रह जोडिरहेका छन् । तर हात जोड्दै भोट माग्ने उम्मेदवार र प्रचारप्रसारमा खटिएका कार्यकर्ताले मतदाता शिक्षा भने दिएका छैनन् ।

ठमेलका स्टालिन श्रेष्ठ आफ्नो घरमा भोट माग्न विभिन्न दलका कार्यकर्ता आए पनि भोट खसाल्ने तरिका चाहिँ नसिकाएको बताउँनुहुन्छ । ‘घरमा भोट माग्न त धेरै आए तर भोट खासल्ने तरिका सिकाएका छैनन्’ श्रेष्ठ भन्नुहुन्छ, ‘दुई ठाउँमा हाल्नुपर्छ भनेर सुनेका छौं । चार÷पाँच जना उम्मेदवार हुन्छन् रे ।’ मतदाता शिक्षाका लागि निर्वाचन आयोगले करोडौँ रुपैयाँ खर्च गरेर २० हजार मतदाता शिक्षा कार्यकर्ता खटाएको छ । एउटा मतदान केन्द्रका लागि एक जनाका दरले शिक्षा कार्यकर्ता विभिन्न सामग्री बोकेर खटिएका छन् ।

तर छोटो समय भएकाले मतदाता शिक्षा कार्यकर्तालाई सबैको घरघर जान भने पनि व्यवहारिक रुपमा संभव देखिँदैन । यस्तो अवस्थामा राजनीतिक दलले मतदातासँग भोट मागेसँगै भोट खसाल्ने तरिका पनि सिकाउनु पर्ने भए पनि त्यसतर्फ उनीहरुको ध्यान पुगेको छैन ।

काठमाडौंमा भेटिनु भएकी नुवाकोटकी बुद्धलक्ष्मी तामाङ स्थानीय तहको चुनावका बेला भोट खसाल्ने तरिका सिकाए पनि अहिले कसैले नसिकाएको उज्यालो अनलाइनसँग बताउनुहुन्छ । यसअघि पटक पटक भोट हालेका र आफूलाई जानेको छु भनेर सोच्ने मतदाता पनि आसन्न चुनावमा कसरी र कतिवटा मतपत्रमा छाप लगाउनुपर्छ भन्ने विषयमा अनविज्ञ छन् ।

मतदान गर्ने दिन नजिकिएसँगै प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ । मतदाताले पनि यसलाई भोट दिन्छु भनेर मनस्थिति बनाउन थालेका छन् । आफूलाई मन परेको उम्मेदवारलाई मत दिन उत्साहित भएर दिन गनिरहेका मतदाताले भोट खसाल्ने भन्ने सही तरिका सिक्नु आवश्यक छ । त्यसका लागि राजनीतिक दलले आफ्ना कार्यकर्तालाई भोट माग्नसँगै भोट खसाल्ने तरिका पनि सिकाउन ध्यान दिनुपर्छ ।

 

Share It

Post Comments
थप विशेष