विशेष लमजुङमा नाटकबाटै मतदाता शिक्षा
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर ६– प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा लमजुङमा नाट्यकर्मीले नाटकबाट नै मतदाता शिक्षा दिने गरेका छन् ।

निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय लमजुङको संयोजनमा हिमाली रंगमञ्च काठमाडौं र मञ्जरी नाट्य समूह लमजुङको संयुक्त प्रस्तुतिमा मतदाता शिक्षा दिइएको हो ।

sadak natak

अहिले विभिन्न दलका नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई व्यापकता दिएका छन् । उनीहरुले गाउँ, शहर, टोलमा चुनाव प्रचारप्रसारमा नेता तथा कार्यकर्तालाई खटाएका छन् । दल, नेता तथा कार्यकर्ताले आ–आफ्नो तरिकाले चुनाव प्रचार प्रसार गरे पनि नाट्यकर्मीले भने नागरिकले दिएको मत बदर नहोस् भन्ने उद्देश्यले चुनावसँग सम्बन्धित सडक नाटक देखाउँदै हिँडेका छन् । जिल्ला निर्वाचन कार्यलयको सहयोगमा मतदातालाई सचेतनामूलक मतदान शिक्षा सम्बन्धी सडक नाटक गरेका हुन् । पहिलो चरणमा नै लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ ।

‘मतदान प्रक्रियाका बारेमा जानकारी दिनुका साथै मत बदर नहोस् भन्ने उद्देश्यले सडक नाटकमार्फत् जिल्लाका विभिन्न स्थानमा मतदाता शिक्षा सम्बन्धी सचेतना दिँदै हिँडेका हौँ,’ मञ्जरी नाट्य समूहका अध्यक्ष एवम् कलाकार केदार बोहोराले भन्नुभयो । उहाँका अनुसार यसअघि नाट्य समूहले खुदीबजार, घलेगाउँ, भोर्लेटारबजार र सुन्दरबजारमा नाटक प्रर्दशन गरिसकेको छ । यसका साथै जिल्लाका अन्य ठाउँमा पनि नाटक देखाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । मतदानका विषयमा नाटकीय तरिकाले जानकारी गराइएकाले मतदाताहरुले पनि निकै रुचिपूर्वक नाटक हेरेको बोहोराले बताउनुभयो ।

‘चुनावको मिति, चुनावको महत्व, मतपत्रका प्रकार र स्वरुप, मतदान गर्ने तरिका, मतपत्र पट्याउने तरिका र मतपेटिकामा खसाल्ने जस्ता विषयमा केन्द्रित रही नाटकमार्फत नागरिकलाई यससम्बन्धी जानकारी गराइएको हो,’ हिमाली रंगमञ्चका अध्यक्ष एवम् नाटक संयोजक हरि अधिकारीले बताउनुभयो ।

चुनावका विषयमा नाटकमार्फत जानकारी पाउँदा रमाइलो अनुभूति भएको मतदाताहरुले प्रतिक्रिया दिएका छन् । चुनावका दिन विवाह, व्रतवन्ध, भोजभतेर, मेलापात, पूजाआजामा नभूली आफ्नो अमूल्य मतदान गर्न नाटकले सबै नागरिकमा आग्रह समेत गरेको छ ।

 

Share It

Post Comments
थप विशेष