विशेष भोट हाल्ने दिन आँखा देख्दिन भन्नुपर्छ बझाङका महिलाले
Ujyaalo

डीबी विष्ट/उज्यालो ।

बझाङ, मंसिर १३– ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा घरबाट आफै भोट हाल्छु भनेर आएकी हुँ ।’ जयपृथ्वी नगरपालिका –१, की पानसरा सिंहले भन्नुभयो, ‘तपाईँ बिगार्नु हुन्छ । बिग्रियो भने बर्बाद हुन्छ, एक भोटको पनि धेरै ठूलो महत्व छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’ आजसम्म कहिल्यै पनि मत नहालेको बताउने ५५ वर्षीया सिंह आफ्नो मत यसपाली पनि छिमेकी भतिजाले हालिदिएको बताउनुहुन्छ ।

कुनै पनि व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि कार्यान्वयन भने भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिँदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरुमा आफ्नो मत आफै हाल्नु पर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि ११ बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्काेलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका –१, का कृष्ण विकले बताउनुभयो । ‘कसैले त १०/१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन’ विकले भन्नुभयो, ‘धेरै महिलाले आफै भोट हाल्न सक्दैनौँ भन्न थाले । उनीहरुको मत अरुले हालिदिए ।’

महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्ला भरिका १६० वटै मतदान केन्द्रमा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको स्थानीय कर्ण बहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०/२५ वर्षका महिलालाई पनि भोट यसरी हाल्नु पर्छ भनेर सिकाएनन्, उल्टै आँखा देख्दिन, हात काँम्छ भनेर भन्नु भनेर पहिले नै सिकाएका रहेछन् । एक दुई जना महिलाको मत अरुले हाल्ने बित्तिकै त नियम जस्तो भैहाल्यो ।’

कुनै मतदान केन्द्रमा भने महिलाको भोट अरुले हाल्ने विषयमा कडाई गरेपछि विवाद समेत भएको थियो । चुनावको दिन थलारा गाउँपालिका वडा नम्बर ८ मा रहेको शैलेश्वरी निमावि मतदात केन्द्रमा एकजना मतदाता देबवाज पाध्याकी श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा झडप भएको थियो । झडपका क्रममा एक जना एमालेका कार्यकता सामान्य घाइते भएका थिए । पछि स्वयम् महिलाहरुले आफ्नो मत आफैले हालेको स्थानीय पदम शर्माले बताउनुभयो । उहाँका अनुसार कतिपय महिलाहरुले मत बिगारेका छन् । समानुपातिक मतपत्रमा तल र माथि दुई ठाउँ छाप लगानुपथ्र्यो । यहाँका महिलाहरुले एकै ठाउँ माथिमात्र छाप लगाएको बताएका छन् । कतिपय महिलाहरुले भने ल्याप्चेसमेत हानेर मतदान गरेको बताएका छन् ।

आफूहरुले महिलाको मत अरुलाई हाल्न नदिने विषयमा कडाइ गर्न खोजे पनि मतदान कार्यमा खटिएका दलका एजेन्टहरुले यसको विरोध गरेपछि आफूहरु पछि हटेको मतदान अधिकृतहरुले बताएका छन् । ‘महिलाहरुले मत बिर्गाछन । बदर हुन्छ भनेर सबै दलका कार्यकर्ताहरु एकै स्वरमा विरोध गर्न थाले’ एक जना मतदान अधिकृतले भने ‘त्यही विषयलाई लिएर मतदान नै बिथोलिने अवस्था आएपछि हामी पनि बाध्य भयाैँ ।’

‘महिलाको मत पुरुषले हाल्न नपाउने भएपछि सबै दलका एजेन्ट उठेर बाहिर गइदिन्छौ भन्न थाले । त्यही विषयले समस्यामा पर्नु भन्दा सबै दलको सहमतिमा निरक्षर महिलाको मत चाहेको व्यक्तिलाई हाल्न दिने सहमति गर्यौँ’ अर्का मतदान अधिकृतले भन्नुभयो ।

स्थानीयले महिलाको मत पुरुषले हालेको बताए पनि कतिपय मतदान अधिकृत र राजनीतिक दलका प्रतिनिधिहरुले भने आफूहरुको मतदान केन्द्रमा त्यसो नभएको भन्दै कुरा लुकाएका छन् ।

स्थानीय तहको चुनावमा एकै जना व्यक्तिले ७५ देखि ८० जना महिलाको मत खसालेको भए पनि अहिलेको चुनावमा एकजनाले कम मत हालेको स्थानीय नरेन्द्र बोहराले बताउनुभयो ।

मतदाता शिक्षा प्रभावकारी नभएका कारण यहाँका महिलाहरुले आफ्नो मत आफै हाल्न नपाएको मष्टा गाउँपालिकाका स्थानीय हरि धामी र नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह बताउनुहुन्छ । महिलालाई राम्रोसँग मतदान गर्ने तरिका सिकाएको भए सबै महिलाहरुले आफ्नो भोट आफै हाल्न सक्ने नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह बताउनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष