विशेष कांग्रेस उम्मेदवारमाथि लगातार आक्रमण, कांग्रेस भन्छ – लोकतन्त्र समाप्त पार्न खोजिँदैछ
Ujyaalo

काठमाडौं, मंसिर १३– बुधबार बिहान उदयपुरमा बम विस्फोटबाट घाइते भएका आफ्ना नेता तथा कार्यकर्तालाई उपचारको व्यवस्था गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

गढी गाउँपालिका ६ मा बिहान भएको बम विस्फोटबाट उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते को उपचारको व्यवस्था गर्न पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारसँग माग गरेको हो । उम्मेदवार कार्की चढेको बा १५ च ७८०६ नम्बरको जिपमा बम प्रहरार हुँदा उहाँ गम्भीर घाइते हुनुभएको छ ।

कार्कीको अनुहार र खुट्टामा चोट लागेको छ । उहाँसँगै चुनावी प्रचारमा हिँडेका नीरा कट्वाल, धनमाया धौलाकोटी, राजन कार्कीसहित अन्य ३ जना घाइते भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै हत्या गर्ने मनसायबाट भएको यो घटनाको निन्दा गर्नुभयो । मंगलबार उदयपुरकै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार नारायण खड्कालाई लक्षित गरि बम विस्फोट भएको थियो ।

सोमबार झापा ३ का नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीमा रहेको घरमा बम विस्फोट भएको थियो । निरन्तर कांग्रेसका नेता कार्यकर्तामाथी आक्रमण हुन दुःखद भएको भन्दै कांग्रेसले लोकतन्त्र समाप्त पार्न खोजिएको बताएको छ । यस्ता घटनाबाट बिचलित नहुन पनि कांग्रेसले नेता कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसका नेता, उम्मेदवार एवं कार्यकर्ताको हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा चुनावका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।” यस्ता अवांछित क्रियाकलाप पुनः नदोहोर्‍याउन चेतावनी दिंदै नेपाली कांग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

 

Share It

Post Comments
थप विशेष