विशेष सिरहा –२ मा वाम बर्चश्व तोड्ने कांग्रेसको कसरत
Ujyaalo

सिरहा, मंसिर ६ – यही मंसिर २१ गते हुने दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यका लागि सिरहा –२, बाट मुख्य तीन दलसहित १६ जनाले उम्मेदवारी दिएका छन् ।

वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेशचन्द्र दास यादव, नेपाली कांग्रेसका रामचन्द्र यादव र मधेशी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका शत्रुधनप्रसाद सिंह कोइरीको उम्मेदवारी परेको छ । पूर्व वास्थ्य राज्यमन्त्रीसमेत रहेका वाम गठबन्धनका उम्मेदवार दास लामो समय कांग्रेसमा राजनीति गरेर उम्मेदवारी दर्ताको केही दिनअघि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार यादव सिरहा जिल्ला सभापति तथा निवर्तमान सासंद हुनुहुन्छ । सिंह संघीय फोरमका केन्द्रीय सदस्य तथा पूर्व सभासद हुनुहुन्छ । वाम गठवन्धनका उम्मेदवार २०४८ को आम चुनाव र २०५१ को मध्यावधि चुनावमा सिरहाको क्षेत्र नम्बर ३ बाट सासंदमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५२ सालमा शेरबहादुर देउवाको सरकारमा स्वास्थ्य मन्त्री बन्नुभएको थियो । दासले वामपन्थीको राम्रो गढ रहेको र आफ्नो व्यक्तित्वको कारण पनि आफ्नो पक्षमा चुनावको परिणाम आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले त्यसैै कांग्रेस छोडेको होइन, जनताले मलाई स्वतन्त्रबाट भए पनि उम्मेदवारी दिन दबाब दिएपछि आफू माओवादीमा प्रवेश गरेर चुनावमा आएको हुँ, मलाई जनताले लडाएका हुन्, त्यसैले चुनावको परिणाम हाम्रो पक्षमा रहन्छ ।’

दोस्रो संविधानसभा २०७० सालको दोस्रो संविधानसभामा सिरहा क्षेत्र नम्बर ४ मा गएको असोज २ गते भएको स्थानीय तहको चुनावमा कांग्रेसको अवस्था खस्किएपछि यसले उहाँलाई ठूलो झट्का परेको बताइन्छ । तर, यादव भने जनताले आफूलाई नै चुन्नेमा ढुक्क रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले संविधानसभामा जितेपछि पनि यस क्षेत्रका जनतासँग सम्पर्कमा छु’ चुनाव जित्ने आधार पेश गर्दै उहाँले भन्नुभयो ‘कांग्रेससहित अन्य सबै दलसँगको समन्वयमा क्षेत्रको विकास निर्माणमा लागेको छु, क्षेत्रका विभिन्न सामुदायिक विद्यालय, सडक, पुल पुलेसा, खानेपानी, सामुदायिक भवन निर्माण गर्न सघाएको छु ।’ 

पहिलो मधेश आन्दोलनको रापमा २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ४ बाट सिंह संविधानसभा सदस्य चुनिनुभएको थियो । पछि विजय गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभयो । पर्यटन राज्यमन्त्री बनेका सिंह ७० को दोस्रो संविधानसभा चुनावमा त्यसै क्षेत्रमा कांग्रेसका यादवसँग पराजय भएका थिए ।  पछि पुनः सिंह उपेन्द्र यादवकै नेतृत्वमा रहेको फोरममा प्रवेश गरेपछि केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ ।

क्षेत्र नम्बर २ धनगढीमाई नगरको १२, सुखीपुर नगरको १०, गोलबजार नगरको एक वडासहित लक्ष्मीपुर पतारी, बरियारपट्टि, नवराजपुर, औरही र अर्नमा गाउँपालिकाका ४१ वडाहरु समेटिएका छन् । यस क्षेत्रमा स्थानीय तहको पछिल्लो चुनावमा धनगढीमाई, औरही र अर्नमामा माओवादी केन्द्रले जितेको छ भने लक्ष्मीपुर पतारी, बरियारपट्टिमा फोरमले जितेको छ । नवराजपुरमा कांग्रेस र सुखीपुर एमालेले जितेको छ । क्षेत्र नं. २ मा पर्ने आठ स्थानीय तहका ४१ वडाको मतको आधारमा एमालेले १३, माओवादी केन्द्र र कांग्रेस ९,९, फोरमले १० वडामा जितेको छ ।

क्षेत्रको ४१ वटै वडामा दलहरुले पाएको मत परिणाम अनुसार सवैभन्दा बढी नेकपा एमालेले १५ हजार चार सय ४३ मत प्राप्त गरेको थियो । कांग्रेस १५ हजार चार सय १३ मतसहित, फोरमले १४ हजार चार सय ७७ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्र ११ हजार २७१ मतसहित चौथो र राजपा नेपालले  २३७५ मत प्राप्त गरेको थियो । स्थानीय तहको मतलाई आधारमान्दा वाम गठबन्धनको २६,७१४ प्राप्त गरेको छ । यो मत परिणामले वाम गठवन्धन कांग्रेसभन्दा ११,३०१ मतले अगाडि देखिन्छ । यस क्षेत्रमा जम्मा दुईजना तस्रो लिङ्गीसहित ८८ हजार ८९ मतदाता छन् ।

 

 

 

 

 

Share It

Post Comments
थप विशेष