विशेष सप्तरी २ का मतदाताले उपेन्द्रलाई रोज्लान् कि उमेशलाई ?
Ujyaalo

शुभनारायण यादव/उज्यालो ।

सप्तरी, मंसिर १३– चुनाव आउन एक हप्ता मात्रै बाँकी हुँदा सप्तरीमा दलहरुको प्रचार थप आक्रामक बनेको छ ।

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव, स्वतन्त्ररुपमा उम्मेदवारी दिएका राजपाका पूर्व सहमहामन्त्रीसमेत रहेका जयप्रकाश ठाकुर चुनावी मैदानमा हुनुहुन्छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसले पनि उपेन्द्र यादवलाई नै सहयोग गर्ने भएको छ । कांग्रेसका उम्मेदवार सकलदेव सुतिहारले उम्मेदवारी फिर्ता लिएपछि प्रमुख प्रतिस्पर्धीका रुपमा उपेन्द्र र उमेश यादवलाई हेरिएको छ।

झण्डै ७९ हजार २ सय ६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

तर दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको चुनौती पनि छँदैछ । चुनावी मैदानमा रहेका फोरम अध्यक्ष यादव यसअघि पहिलो र दोस्रो संविधानसभा चुनावमा मोरङ र सुनसरीबाट उम्मेदवार बन्नुभएको थियो । अध्यक्ष यादवले पहिलो संविधानसभामा मोरङ र सुनसरीको दुवै क्षेत्रबाट विजय प्राप्त गर्नुभएको थियो । तर २०७० सालको दोस्रो संविधानसभाको चुनावमा सुनसरीबाट विजयी हुनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्व सिचाई मन्त्री उमेशप्रसाद यादवले पनि यसअघि २०७० सालको चुनावमा सप्तरी क्षेत्र नम्बर ३ बाटै फोरमका शलेन्द्रप्रसाद साहलाई पराजित गर्नु भएको थियो ।

उपेन्द्र यादवलाई समर्थन गर्न कांग्रेसको केन्द्रीय कमिटिबाटै निर्देशन आएपछि उपेन्द्र यादव थप बलियो देखिनु भएको छ तर वाम गठबन्धन पनि यस क्षेत्रमा कमजोर छैन ।

सप्तरी क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यमा पनि गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् । २ को (क)मा राजपा–फोरम गठबन्धनबाट शलेन्द्रप्रसाद साह र नेपाली कांग्रेसबाट रञ्जित कर्ण हुनुहुन्छ । त्यस्तै २ को (ख)मा वाम गठबन्धनको तर्फबाट महेश यादव र राजपा–फोरम गठबन्धनबाट राजपाका महासचिव मनिषकुमार सुमन चुनावी मैदानमा हुनुहुन्छ ।

यस्तै राजपाले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै लक्ष्मण यादवले पनि महासचिव सुमनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएर कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा हुनुहुन्छ । सप्तरी क्षेत्र नम्बर २ मा छिन्नमस्ता, तिलाठी कोइलाडी, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्छन् ।

 

 

Share It

Post Comments
थप विशेष