विशेष ‘पार्टी भनेर होइन, असल मान्छे छानेर भोट’
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर १४ – प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनाव नजिकिरहँदा दलहरु तीव्र रुपमा चुनावी प्रचार प्रसारमा जुटेका छन् । नवलपरासीको तराई क्षेत्रमा चुनावकोे चहलपहल देखिए पनि पहाडी क्षेत्रमा भने त्यही अनुपातमा चुनावले छुन सकेको छैन ।

दलका उम्मेदवार पहाडी क्षेत्रमा छोटो प्रचार प्रसारको कार्यक्रम लिएर पुगेका त छन् तर भौगोलिक बिकटताका कारण उम्मेदवार सबै क्षेत्रमा पुग्न नसक्दा पहाडका कतिपय मतदातालाई चुनावले खासै छुन सकेको छैन् ।

हुप्सेकोट गाउँपालिका–६ प्लेगाका दानबहादुर राना मगरले आफ्नो गाउँमा चुनाव प्रचार प्रसारका लागि अझैसम्म कुनै पनि दल नआएको बताउनुभयो । ‘अहिलेसम्म कुनै पनि पार्टी प्रचारलाई आएका छैनन् । गाउँमा किन आउथे र ?’ मगरले भन्नुभयो ‘पहिले पहिले पनि भोट दिएर जिताइयो । गाउँको विकास गर्छु भन्थे, तर खोई गाउँको विकास भएकै छैन ।’

मगरले अब आफूले पार्टीभन्दा राम्रो व्यक्ति छानेर भोट दिने बताउनुभयो । ‘पार्टी–पार्टी भनेर के गर्नु चुनावमा मात्रै चिल्ला कुरा गर्छन अब त असल मान्छेलाई नै भोट दिने हो । जसले गाउँमा बाटोघाटो, खानेपानी ल्याउँछ, उसैलाई भोट दिने हो’ मगरले भन्नुभयो ।

यस्तै हुप्सेकोट गाउँपालिका–४ लखनयाटोलका काशिराम विकलाई पनि अझैसम्म कुनै पनि दल गाउँमा नआएकोमा दुःख लागेको छ । विकले भन्नुभयो ‘२०/२५ घर भएको सानो टोल छ । विकटमा उकालो चढ्नुपर्छ, त्यसैले त कोही पनि नआएका होलान् । नेताले किन दुःख काट्छन र ! सुख मात्रै खोज्छन ।’

‘यसभन्दा अगाडि पनि गाउँमा विकास गर्छु भनेर भोट दिइयो । अब त भोट पनि दिन मन छैन’ अनुहार बिगार्दै विकले भन्नुभयो ‘जसलाई भोट दिए पनि केही गर्ने होइन, गाउँमा विद्यालय छैन । घण्टाैं हिडेर बल्ल नानीबाबु पढ्न जानुपर्छ । विद्यालय बनाइदिन्छु भनेका थिए खोई बनाइदिएको ?’

हुप्सेकोट गाउँपालिकाका धेरै विकट क्षेत्रमा अझै पनि दलहरु नपुग्दा त्यहाँका मतदाता निराश भएका छन् । मतदातामा यसअघिका चुनावमा विजयी बनेका उम्मदेवारले गरेका बाचा पूरा नगरेको आक्रोश समेत पैदा भएको छ ।

हुप्सेकोट–४ का रनबहादुर सोतीको गुनासो पनि उस्तै छ । चुनाव नजिकिएको भए पनि कुनै पनि दलका उम्मेदवार अझैसम्म पनि गाउँमा नपुग्दा दुःख लागेको छ सोतीलाई । ‘खोई कुनै पनि नेता भोट माग्न आएका छैनन् । कुन मुखले भोट माग्न आउन र ! पहिले गाउँमा धेरै विकास गर्छु भनेर भनेका थिए, जितेपछि फर्केका छैनन् ।’

नेताहरुले चुनावका बेलामा ठुला कुरा गर्ने तर जितेपछि वास्तै नगर्ने भन्दै सोतीले आक्रोश पोख्नुभयो । ‘अब त राम्रो र काम गर्ने नेतालाई मात्रै भोट दिने हो । भ्रष्टाचार नगर्ने, गाउँको विकास गर्ने, बाटोघाटो बनाईदिने, खानेपानीको व्यवस्था गर्ने, पुल बनाउने उम्मेदवारलाई मात्रै भोट दिने हो’ सोतीले भन्नुभयो ।

 

Share It

Post Comments
थप विशेष