विशेष छिमेकी जिल्लामा प्रचारप्रसार गर्न हिँडे बैतडीका उम्मेदवार र कार्यकर्ता
Ujyaalo

इन्द्रसरा खड्का/उज्यालो ।

बैतडी, मंसिर १४ – बैतडीका राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार अहिले छिमेकी जिल्लामा छन् । बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव पहिलो चरणमा नै सम्पन्न भएपछि अहिले बैतडीका उम्मेदवार र कार्यकर्ता छिमेकी जिल्ला डडेल्धुरा, कैलाली कञ्चनपुरमा पुगेका छन् ।

पहिलो चरणको चुनाव सम्पन्न भइसकेको ठाउँमा दोस्रो चरणको चुनावपछि एकै चरणमा मतगणना गरिने भएपछि बैतडीका उम्मेदवार र कार्यकर्ता छिमेकी जिल्लामा लागेका हुन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर चन्द प्रचार प्रसारकै लागि डडेल्धुरा जानुभएको छ । चन्द डडेल्धुरापछि महेन्द्रनगरमा चुनावी अभियानमा सहभागी हुने कार्यक्रम छ । अन्य लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता पनि कैलाली र कञ्चनपुरतिर लागेको कांग्रेस जिल्ला कोषअध्यक्ष रमेश पाण्डेले बताउनुभयो ।

आफूहरु पनि कांग्रेसको चुनावी प्रचार प्रसारको लागि महेन्द्रनगरमा रहेको पाण्डेले बताउनुभयो । महेन्द्रनगरमा कांग्रेसको चुनावी प्रचार प्रसारमा गएका कार्यकर्ता उम्मेदवारसँगै नागरिकको घरदैलोमा कार्यक्रममा सहभागी भएका छन् ।

बैतडी र दार्चुलाका नागरिकको तराई क्षेत्रको बसोबास गर्ने मुख्य थलो भनेको महेन्द्रनगर हो । त्यहाँका धेरै जसो मानिस बसाइसराई गरेर महेन्द्रनगर झरेका छन् । चुनावको बेला महेन्द्रनगरमा गएर प्रचार प्रसार गर्दा पनि आ–आफ्नो पार्टीको उम्मेदवारलाई फाइदा पुग्ने भएकाले आफूहरु तराईमा झरेको कांग्रेस बैतडीका नेताहरुले बताएका छन् । एमाले र माओवादी केन्द्रका नेताहरुले पनि आफूहरु महेन्द्रनगरमा गएर प्रचार प्रसार अभियानमा जुटेको बताएका छन् ।

पूर्व अर्थराज्यमन्त्री एवं वाम गठबन्धनबाट बैतडीका प्रतिनिधिसभाका उम्मेदवार दामोदर भण्डारी डडेल्धुराको चुनावी प्रचार प्रसार अभियानमा व्यस्त हुनुहुन्छ । उहाँ पनि वाम गठबन्धनबाट डडेल्धुरामा गएर नागरिकसँग भेटघाट अभियानमा हुनुहुन्छ । उहाँ डडेल्धुरापछि महेन्द्रनगरमा पनि चुनावी प्रचार प्रसारमा जाने कार्यक्रम रहेको एमालले जनाएको छ । वाम गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार लिलाधर भट्ट पनि महेन्द्रनगरको चुनावी प्रचार प्रसार अभियानमा हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष