विशेष तीन नम्बर प्रदेशको राजधानी भक्तपुर –पूर्वमन्त्री बस्नेत
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १४ –पूर्वउद्योग मन्त्री महेश बस्नेतले तीन नम्बर प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताउनु भएको छ ।

गठ्ठाघरमा बुद्धिजीवीहरुको भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ वटा जिल्लाको मध्यबिन्दु पनि भक्तपुर रहेकाले भक्तपुरलाई प्रदेशको राजधानी बनाइने बताउनु भएको हो ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भक्तपुर क्षेत्र नं. २ बाट वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएको एमालेका युवा नेता बस्नेतले प्रदेश राजधानी भक्तपुर सबै क्षेत्रबाट उपयुक्त भएको बताउनुभयो ।

बस्नेतले भन्नुभयो, ‘भक्तपुर १३ वटा जिल्लाको सेन्टरमा पर्छ, काठमाडाै‌ भएर पूर्व पश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्र पनि भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार तयार पनि छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।’

भक्तपुरको जगातीमा रहेको ईटा कारखाना भएको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद भवन, कार्यालय एवं क्वाटर बनाउन जग्गा पुग्ने बताउँदै उहाँले भन्नुभयो—‘यो दुई ठाउँका जग्गा बाहेक तत्कालका लागि खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन, सानोठिमीका रहेका शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयहरुलाई प्रयोगमा ल्याउन सकिन्छ ।’

संघीयता लागू भएपछि यस्ता कार्यालयहरु खाली रहने भएकाले प्रदेश सरकारले यसलाई प्रयोगमा ल्याउन सक्ने उहाँको भनाई थियो । बस्नेतले भक्तपुर २ नम्बर क्षेत्रमा यसअघि नेमकिपा र नेपाली कांग्रेसले आलोपालो गरेर २०४८ सालदेखि सांसद जिते पनि विकास गर्न नसकेकाले जनताले यसपल्ट आफूलाई रोज्ने दाबी गर्नुभयो ।

बस्नेतले भन्नुभयो, ‘२०४८ सालदेखि नेमकिपा र कांग्रेसले आलोपालो गरेर सांसद जित्दै आए, तर खै त विकास, त्यसैले यसपल्ट हामीले मान्नुपर्ने आदरणीय पूर्वसभामुख दमननाथ दाई काँग्रेसबाट उम्मेदवार बन्नु भएको छ, हामी उहाँलाई सम्मान गर्छौ तर भक्तपुरको मुहार फेर्न र विकास गर्न भक्तपुरका जनताले यस पटक मलाई रोज्नु हुनेछ ।’ कार्यक्रममा उहाँले बुद्धिजिवीहरुलाई भक्तपुरको विकासका एजेण्डा सहित चुनाव प्रचारमा लाग्न र मतदाता शिक्षा घरघरमा पुर्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नं. २ (क) का प्रदेशसभा उम्मेदवार शशीजंग थापा र प्रदेश (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले जनताले परिवर्तन चाहेकाले विकासको लहर ल्याउदै जनताले अनुभूति गर्नेगरि परिवर्तन ल्याउनका लागि वामगठबन्धनलाई रोज्ने दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्व सांसद केदार सञ्जेल, भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायत अन्य बुद्धिजिवीहरुले जनता २१ गतेको प्रतिक्षामा रहेको बताउँदै मत बदर हुन नदिन कार्यकर्तालाई लाग्न आग्रह गर्नुभयो ।

Share It

Post Comments
थप विशेष