विशेष प्रधानमन्त्रीले फेरि भने : कम्युनिस्टले जिते संविधान उल्ट्याउँछन्
Ujyaalo

मकवानपुर, मंसिर १४ –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अधिनायकवादी सत्ता ल्याउने कम्युनिष्टहरुको सपना पूरा नहुने दाबी गर्नुभएको छ ।

उत्तरी मकवानपुरका पालुङमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनको नाममा कम्युनिष्टहरुले अधिनायकवादी एकतन्त्रीय शासन लागु गर्न खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस २००७ सालदेखि हरेक खालका तानाशाही प्रवृत्तिविरुद्ध नेतृत्व गरेको भन्दै अहिले वाम गठबन्धनले ल्याउन खोजेको अधिनायकवादी व्यवस्थालाई जनताको साथबाट परास्त गर्ने बताउनुभयो ।

उहाँले अहिलेको संविधान समावेशी संविधान भएको भन्दै वाम गठबन्धनले जिते संविधान उल्टाउने समेत जिकिर गर्नुभयो । प्रधानमन्त्री शेरबहादर देउवाले पछिल्लो पटक वाम गठबन्धनलाई निसाना बनाउँदै आउनुभएको छ । उहाँले पछिल्ला दिनमा आयोजित चुनावी आमसभामा कम्युनिस्टले जिते नागरिकको बोल्ने अधिकारसमेत गुम्ने भन्दै लोकतान्त्रिक गठबन्धनले मात्रै जनताको हित चाहेको बताउँदै आउनुभएको छ ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले अहिलेको अधिनायकवादविरुद्ध लोकतान्त्रिक गठबन्धन बनेको भन्दै देश विकासका लागि यो गठबन्धनको जित आवश्यक रहेको बताए । उहाँले लोकतान्त्रिक गठबन्धनले आउँदो ५ वर्षभित्र नेपालको गरिवी, शोषण र विभेद अन्त्यका लागि काम गर्ने समेत दाबी गर्नुभयो । गरे ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँड, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी डिना उपाध्याय, प्रदेश ‘ख’ का उम्मेदवार पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, प्रदेश ‘क’ का उम्मेदवार यतिराज सापकोटा, उद्योगपति विनोद चौधरी लगायतले समग्र देशको विकासका लागि लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदाताहरु आकर्षित भईरहेको बताएका थिए । कार्यक्रमस्थल वरपर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा रहेको थियो ।

Share It

Post Comments
थप विशेष