विशेष रुकुम, रोल्पामा चुनाव सकिएपछि विप्लव समूहले प्यूठानमा अवरोध पुर्‍याउन सक्ने
Ujyaalo

प्यूठान, मंसिर १४ –आसन्न प्रतिनिधि तथा प्रदेश सभा चुनावको मिति नजिकिँदै गर्दा प्यूठानमाचुनावको सुरक्षामा चुनौती बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रदेश नं. ५ को सुरक्षा संयन्त्रले समेत निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्लामध्येमा पारेको छ । चुनाव बहिष्कारको रणनीति लिएको विप्लव माओवादी भनेर चिनिने नेकपाद्वारा प्यूठानमा निर्वाचन सुरक्षा चुनौती बन्न सक्ने अनुमान गरिएको जिल्ला सुरक्षा संयन्त्रले जनाएको छ ।

चुनाव प्रचारको लागि गाउँमा नपस्न र चुनावी अभियानमा अवरोध हुन सक्ने भन्दै जिल्ला प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई पक्राउ समेत गरेको छ । उनीहरुले सबैभन्दा बढी माओवादी केन्द्रलाई नै विभिन्न ठाउँमा खुला रुपमै अवरोध गर्न सक्ने सुरक्षा निकायको अनुमान गरेका छन् । संयुक्त वाम गठवन्धनसँग सँगै प्रचार हिँडेका एमाले, माओवादी र राजमो सम्मिलित कार्यक्रम तथा आमसभालाई पहिल्यैदेखि अवरोध गर्न सक्ने सुरक्षा अंगलाई रिपोर्ट छ ।

केन्द्रीय स्तरबाटै पार्टीले बहिस्कारको रणनीति लिएकोले गाउँमा कार्यक्रम गर्दा जनता स्वतःस्फुर्त आक्रोशित भएर कार्यक्रम बिथोल्न सक्ने भए पनि पार्टीले आफ्ना कार्यकर्ता कसैलाई पनि ढुङ्गा, मुढा प्रहार तथा लडाईँ गर्नका लागि निर्देशन नदिएको नेकपाले जनाएको छ । तर प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरी स्वस्फुर्त विचार राख्न र राजनीति गर्न पाउने अधिकारमा हस्तक्षेप गरेको उसको धारणा छ । प्रहरीले चुनाव विरोधी क्रियाकलापमा संलग्न रहेको भन्दै नेकपाका केही कार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्वको उद्गम थलोको रुपमा चिनिने रोल्पा जिल्लामा पहिलो चरणमा चुनाव सम्पन्न भएकाले छिमेकी जिल्लामा भएका गतिविधिको आधारमा प्यूठानमा निर्वाचन सुरक्षा चुनौती बढेको हो । सँगै जोडिएको रुकुम जिल्लामा समेत चुनावमा विष्फोटक पदार्थ पड्काउने र प्रहरीसँग समेत झडप हुने गरेको भन्दै जिल्लाका मतदातालाई पनि त्रसित पार्न सक्ने गतिविधि बढ्दै जान सक्ने भन्दै गृह प्रशासनले प्युठानलाई पनि अति संवेदशनशील जिल्लाको सूचीमा राखेको छ ।

स्थानीय तहको चुनावमा प्यूठानलाई संवेदनशील जिल्लाको रूपमा हेरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अति संवेदनशील क्षेत्रका रूपमा गृहबाटै राखिएको जानकारी दिनुभयो । उहाँले छिमेकी जिल्ला रोल्पा र रुकुममा पहिलो चरणमा चुनाव सम्पन्न भएकोले त्यसै अनुसार जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो ।

सुरक्षा निकायले यी जिल्लाबाट प्यूठानमा चुनाव विरोधी कार्य गर्न आउन सक्ने भन्दै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको बताउँछन् । यहाँका मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण मिलाउन सुरक्षा अवस्था उच्च पारिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रजिअ घिमिरेले जिल्ला बाहिरबाट सर्वसाधारणको रुपमा जिल्ला भित्रिएर प्रभाव पर्छ कि भन्ने आशंकाले चेकपोष्टमा कडाइका साथ जाँच गर्ने, भित्री मार्गमा समेत हिँड्ने यात्रुलाई पनि सोधपुछ र चेकिङ गरी पठाउने गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका उम्मेद्वारहरुको सुरक्षार्थ सवारी गाडी भाडामा लिई सुरक्षा दिने काम भइरहेको छ । जिल्लाका विभिन्न प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाटै सुरक्षा व्यवस्थाको चाँजोपाजो मिलाइएको छ । जिल्लामा प्रहरीका ४ वटा मात्रै गाडी भएकोले तत्काल १४ वटा गाडी भाडामा लिएर सुरक्षा प्रदान गर्न थालिको हो । हाल यतिले पुग्न सक्ने भए पनि आवश्यकता अनुसार सवारी साधन थप गर्ने तयारीमा रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारको सुरक्षार्थ खटिएका प्रहरीलाई पूर्ण अधिकारसहित खटाइएको छ ।

जिल्लाको २ सय मतदान केन्द्र रहेका छन् भने १ सय ५१ स्टलको चुनावको लागि व्यवस्था गरिएको छ । जिल्लाको १ मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा भौगोलिक विकटता र विविध कारणले केही मतदान केन्द्र संवेदनशील र अति संवेदनशीलको रुपमा राखिएको भए पनि सार्वजनिक गरिएको छैन । मतदातालाई निर्वाध रुपमा मतदान गर्न सहज बनाउनका लागि ठाउँ सार्वजनिक नगरिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप विशेष