विशेष बाढी पीडितलाई कसैले हेरेन, भोट माग्न जाने नेता आश्वासन मात्र बाँड्छन्
Ujyaalo

सुमन तिमल्सिना उज्यालो ।

विराटनगर, मंसिर १४ – विराटनगरको साविक वैजनाथपु्र गाविस अहिले विराटनगर महानगरपालिका भएको छ । विराटनगर महानगरपालिका -१९ को वैजनाथपुरमा पर्ने खापटोल र सिसवनी टोललाई बाढीले तहसनहस बनाएको थियो । यहाँका बासिन्दा अहिले पनि बाढीले पुर्याएको क्षतिबाट माथि उठ्न सकेका छैनन् । बाढी गएको चार महिना भैसकेको छ, तर यो गाउँका बासिन्दालाई बाढीको घाउ जस्ताको त्यस्तै छ ।

साउनमा गएको बाढी सम्झँदा अझै पनि आङ नै सिरिङग हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । सिसवनी टोलकी जहरी ऋषिदेव सम्झनुहुन्छ, ‘बाढीका कारण सबै अस्तब्यस्त भएको भयो । घरमा भएको केही पनि बाँकी रहेन । भोकै प्यासै कति दिन यी परिवारले बिताए । बाढी आउँदा निक्कै गाह्रो थियो । बाढी आएकै बेलाको त्यो भुईँमा सुत्नु पर्दाको पीडा कम कहालीलाग्दो थिएन । त्यही भुईँमै बस्नुपथ्र्यो । बच्चाहरुले त्यही चिसोमा चार दिन बिताए ।’

भएको लत्ताकपडा सबै खोलाले बगाएपछि उनीहरु एकसरो कपडामा भागेका थिए । जसोतसो राहतमा आएकोले भुजा र चिउरा बाँडेर खाए । तर लगाउने समस्याले उनीहरुलाई निकै अप्ठेरो परेको थियो । नारी विकास संघले एक्सन एडको सहयोगमा यस क्षेत्रका महिलालाई लक्षित गरेर एकसरो सरसफाईका सामग्री र लत्ताकपडा ल्याएर दिएको उनीहरु सम्झिन्छन् ।

विपदको समयमा महिला र बालबालिका बढी जोखिममा देखिए । बाढी आइरहेको बेला उनीहरुलाई एक त उद्दारमै समस्या भयो । अर्कोतर्फ कोही गर्भवती महिलालाई हेरचाहको अभाव अनि बालबालिकालाई चिसोमा ब्यवस्थापनमा गाह्रो भएको देवमन्ती ऋषिदेवले बताउनुभयो ।

बाढीको पीडा भुल्न नसकेका यी वस्तीका महिला र बालबालिका अहिले पनि त्यही अप्ठेरो अवस्थामा त्रिपालमुनी गुजारा चलाइरहेका छन् । खोलाको छेउमा घर छ, यहीँ बसेका छन् । जाडो सुरु भएकोले महिला र बालबालिका प्रभावित छन् । बालबालिकामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको छ ।

बाढी पीडितको बिजोग

बाढी गाउँ पसेपछि बिस्थापित भएकाहरु अहिले पनि त्रिपाल मुनी बसिरहेका छन् । सामान्य भाटाले त्रिपाल अड्याएर बसेकाहरु बल्ल अब बाँसको घेराबेरा गर्न खोज्दैछन् । तर वर्षौंदेखि यही ठाउँमा बस्दै आएकाहरु महानगरपालिकाले यो ठाउँबाट हटाउने हो कि भन्ने त्रासमा छन् ।
भूकम्प पीडितलाई सरकारले घर भनाउने भन्दै ३ लाख दिने ब्यवस्था गरेको भएपनि बाढी पीडितको बारेमा स्थानीय सरकार अर्थात स्थानीय तह अहिले पनि अन्यौलमा छ ।

मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १९ को साबिकको बैजनाथपुर गाबिसका खोला किनारका बस्तीहरु सिँगिया खोलाले बगाएर खण्डहर बनायो । खोलाले बगाएको पनि ४ महिना बितिसकेको छ । तत्कालको राहतको लागि स्थानीय तह अर्थात स्थानीय सरकार बिराटनगर महानगरपालिकाको भुमिका सकारात्मक भएपनि जब बाढी सुक्यो त्यसपछि कोही फर्केर पनि गएनन् । अहिले पनि त्यही अबस्था छ ।

कहिलेकाँही आएकाहरुले पनि यी बाढी प्रभावित क्षेत्रका सुकुम्बासी र दलित परिवारलाई तर्साउने अनि डर देखाउने बाहेकका कुनै काम हुन सकेको छैन । पीडितहरु खुल्ला ठाउँमा अहिले पनि रात काट्न बाध्य छन् । स्थानीय दुखनी ऋषिदेव महानगरले पहिलादेखि बस्दै आएको ठाउँमा घर बनाउन नदिएको बताउनुुन्छ ।

पहिलाको बैजनाथपुर गाबिस अनि अहिलेको महानगर पालिकाको अबस्था हो यो । यहाँका ३ सय बढी घर परिवार बसोवास भएको क्षेत्रबाट अन्यत्रै महानगरले हटाउने हल्लाले त्रसित छन् ।

एक त बाढीले भएको घर, अनि सम्पत्ति सबै बगायो । लामो समयदेखि खुल्ला ठाउँमा त्रिपालमुनी रात काट्नु पर्दाको पीडा कसलाई पो रमाईलो लाग्ला र ?

महानगरले बाढी गएको समयमा राहतको नाममा एक थान त्रिपाल, २० किलो चामल, सामान्य भाँडाकुँडा दिएको थियो । त्यो बाहेक केही दिएको छैन । खान, बस्न अप्ठेरो छ । जाडोमा बाल बच्चालाई हुर्काउनै गाह्रो रहेको स्थानीय भोला ऋषिदेव सुनाउनुहुन्छ ।

बाढीबाट विराटनगर महानगरपालिका भित्रका झण्डै पाँचहजार परिवार प्रभावित भएका थिए । पाँच हजार परिवारमध्ये खोला किनारका धेरै विस्थापित अहिले आफ्नो बासस्थान फर्किएको भएपनि भएको घरपनि बगाएपछि अहिले पनि त्रिपालमुनी रात काटिरहेका छन् ।

चुनावमा भोट माग्दै नेताहरु आक्कलझुक्कल वस्तीमा पुग्ने गरेका छन् । तर आश्वासन बाँड्ने बाहेक केही नगरेका बाढी पीडितको गुनासो छ ।

 

Share It

Post Comments
थप विशेष