विशेष रुपन्देही ३ : भुसाल भर्सेस बोहोरा, कसले मार्ला बाजी ?
Ujyaalo

भवानीप्रसाद पाण्डे/उज्यालो ।

रुपन्देही, मंसिर १६ – रुपन्देही क्षेत्र नं ३ अहिले सबैको चासोको क्षेत्र बनेको छ । रुपन्देहीका चोक र गल्ली मात्र होइन रुपन्देहीको विषयमा चासो राख्नेहरुले समेत सोध्ने एउटा मुख्य प्रश्न हो, घनश्याम जित्छन कि बोहोरा ? तर उत्तर कसैसँग छैन । किनकी रुपन्देही क्षेत्र नं ३ मा चुनावमा ठूलै प्रतिस्पर्धा छ ।

एमाले उपमहासचिव घनश्याम भुसाल विचारकका रुपमा चिनिनुहुन्छ । राप्रपा प्रतातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा पञ्चायतकालदेखि कै शक्तिशाली नेता हुनुहुन्छ । उहाँ अहिलेको मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्री रहनुभएको छ । हुन त २०४६ सालको परिवर्तनपछि भुसाल तथा २०६२/०६३ को परिर्वतनपछि बोहोराले एक एक पटक नागरिकबाट अनुमोदित हुने अबसर पाएका छन् ।

एमाले सांसद धनपति उपाध्यायको निधन भएपछि भएको उप चुनाव २०५२ मा नेपाली कांग्रेसका रामकृष्ण ताम्रकारलाई हराउँदै एमालेको घनश्याम भुसाल विजयी हुनुभएको थियो । बोहोराले पनि २०७० सालको दोश्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेसकै रामकृष्ण ताम्रकारलाई पराजित गर्दै जित हाँसिल गर्नुभएको थियो ।

त्यसो त हारको स्वाद कस्तो हुन्छ भन्ने दुवै उम्मेदवारलाई थाहा छ । २०७० सालको दोश्रो संविधानसभाको चुनावमा नेपाली कांग्रेसका बालकृष्ण खाँणसँग १०० भन्दा कम मतले भुसाल पराजित हुनुभएको थियो । बोहोरालाई रुपन्देहीको क्षेत्र नं १ मा कांग्रेसका दुर्योधन चौधरीले संसदीय चुनाव २०५६ मा पराजयको स्वाद चखाएका थिए । भुसाल र बोहोरा बिचको यो भिडन्तलाई सबैले उत्सुकता पूर्वक हेरिरहेका छन् ।

हुन त रुपन्दही क्षेत्र नं २ मा पनि एमालेका उपमहासचिव बिष्णु पौडेल चुनावी मैदानमा हुनुहुन्छ । भुसाल भन्दा पौडेल सेफ जोनमा रहेका कारण उहाँ त्यती चर्चा भएको पाईंदैन । माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको उम्मेदवार बनेका भुसाल २०७० सालको नमिठो विगतलाई दोहोराउने पक्षमा हुनुहुन्न भने कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका बोहोराले जितलाई दोहोराउन कडा मिहेनत गरिरहनुभएको छ ।

अघिल्लो चुनावको तुलनामा अहिले भुसाल अलि उत्साही हुनुहुन्छ । स्थानीय तहको चुनावमा वाम गठबन्धनले पाएको मतलाई विश्लेषण गर्ने हो भने झण्डै पाँच हजार मतले भुसालको पल्ला भारी छ । त्यसो त संगठन नै नभएको रुपन्देही क्षेत्र नं २ मा २०७० सालको संविधानसभाको चुनाव जितेका बोहोरालाई कमजोर उम्मेदवार ठान्न हुँदैन । अघिल्लो चुनाव एक्लै जितेका बोहोरालाई अहिले कांग्रेसको साथ रहेको छ ।

चुनावको नतिजालाई उलटफेर पार्न सक्ने हैसियत बोहोराले राख्न सक्ने भएकाले एमाले कार्यकर्ता पनि ढुक्क छैनन् । बोहोरा र भुसाल दुवैको चुनावी प्रचार आक्रामक नै छ । दुवैले विकासका एजेण्डा र प्रदेश नम्बर पाँचको राजधानी रुपन्देही बनाउने मुद्धालाई सँगै लिएर हिँडेका छन् । वाम गठबन्धनको सकृयता भुसालको पक्षमा जति छ बोहोराको पक्षमा कांग्रेसका कार्यकर्ता पनि खुलेरै लागेका छन् ।

२०७० सालको संविधानसभाको चुनावको बेला कायम रहेको क्षेत्र नं २ को भुगोल फेरिएर अहिले क्षेत्र नं ३ बनेको छ । क्षेत्र नं ३ मा पर्ने सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिका स्थानीय चुनावको बेला एमालेले एक्लै जितेको थियो । वाम गठबन्धनको पक्षमा ३१ हजार ५०० र लोकतान्त्रिक गठबन्धनको पक्षमा २६ हजार ९०० मत रहेको स्थानीय चुनावको आंकडा छ । जहाँ संघीय समाजवादी फोरमको मत पनि ५ हजार आसपास नै रहेको छ ।

स्थानीय चुनावको आंकडालाई कामय राख्न सके एमाले उपमहासचिव भुसाललाई यसपटक चुनाव जित्न रुपन्देही ३ मा सहज नै देखिन्छ । उहाँ एमाले भित्रका विचारक रहेको तर कार्यकर्ताको पहुचमा त्यती नहुने भन्ने आरोप लाग्ने गरेको छ । एमाले भित्र माधव नेपाल समूहका हस्ती भनेर चिनिने भुसाल र अध्यक्ष के पी ओली निकटका अर्का उपमहासचिव बिष्णु पौडेलबिच विगतदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्षको व्यवस्थापन हुनसक्छ कि सक्दैन ? यसमा भुसालको राजनैतिक भविष्य जोडिएको छ ।

कांग्रेसको समर्थन रहे पनि रुपन्देही ३ मा बोहोरा आबद्ध दलको सांगठानीक अवस्था टिठ लाग्दो छ । कमजोर संगठन, स्थानीय चुनावको कमजोर अंक गणितका बाबजुद चलाएमान मतदाता, मधेसी समुदायको उल्लेख्य भोट, एमाले भित्रैको संभावित अन्तरघात र कार्यकर्तासँग सहजै घुलमिल हुन सक्ने खुबीका कारण २०७० सालमा जस्तै यसपटक पनि दीपक बोहोराले नै बाजी नमार्लान् भन्न सकिँदैन । गोलाकार भित्रको हलो चुनाव चिन्ह लिएर चुनाव लडेका बोहोराका लागि मतपत्रमा तलमाथी रहेको एकीकृत राप्रपा राष्ट्रवादीको चुनाव चिन्ह चार कुना भित्रको हलो चुनाव चिन्ह टाउको दुखाईको विषय बनेको छ ।

त्यसैले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावले क्रिजमा रहेका भुसाल र बोहोरा मध्ये कसलाई पेभेलियनको बाटो देखाउने हो त्यसका लागि ६ दिन अघि नै अनुमान गर्नु हतार हुनेछ ।

 

Share It

Post Comments
थप विशेष