विशेष सुर्खेतको चुनावी प्रतिस्पर्धा : प्रतिष्ठा जोगाउने होडमा चार मन्त्री
Ujyaalo

प्रकाश पन्त/उज्यालो । 

सुर्खेत, मंसिर १६ – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा सुर्खेतमा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीव्रता दिएका छन् । मंसिर २१ गते हुने चुनावमा प्रदेश नं. ६ को राजधानीको रुपमा हेरिएको सुर्खेतको चुनावी प्रतिस्पर्धालाई रोचक र महत्वपूर्ण मानिएको छ । यसपालीको चुनावमा सुर्खेतमा ३ जना पूर्व र एकजना बहालवाला मन्त्री चुनावी प्रतिस्पर्धामा रहेका छन् । यो चुनावी प्रतिस्पर्धालाई निकै रोचक रुपमा हेरिएको छ ।

यस पटकको चुनावमा कांग्रेसबाट ३ र एमालेका एक गरी चार पूर्वमन्त्री चुनावी मैदानमा छन् ।दुई पूर्व मन्त्री प्रतिनिधिसभाका लागि तथा एक पूर्व मन्त्री र एक बहालवाला राज्यमन्त्री प्रदेशसभाका लागि प्रतिस्पर्धामा छन् ।कांग्रेसबाट सुर्खेत क्षेत्र नं. १ मा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयरामथानी चुनावी मैदानमा हुनुहुन्छ । खड्काकोप्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले सुर्खेतका अध्यक्ष धु्रवकुमार शाही हुनुहुन्छ ।

त्यस्तै थानीको प्रतिस्पर्धी पूर्व एमाले अध्यक्ष नवराज रावत हुनुहुन्छ ।यस्तै प्रदेशसभा ‘क’ लागि सुर्खेत क्षेत्र नं. २ मा वाम गठबन्धनका तर्फबाट पूर्वपर्यटनमन्त्री तथा एमाले पोलिट्व्युरो सदस्य यामलाल कँडेल चुनावी मैदानमा उत्रिनुभएको छ भने प्रदेश सभाकै क्षेत्र नं. २ को ‘ख’ मा कांग्रेस निवर्तमान सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्ट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कँडेलको प्रतिस्पर्धी कांग्रेसका सभापति कमलराज रेग्मी हुनुहुन्छ भने विष्टका प्रतिस्पर्धी वाम वठवन्धनका तर्फबाट नेकपा माओवादीकेन्द्रका विन्दमान विष्ट हुनुहुन्छ ।

चारैजना पूर्वमन्त्रीले यसअघि चुनावी प्रतिस्पर्धा गरिसक्नु भएको छ । नेपालीकांग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका नेता खड्का २०४८ सालको पहिलो आमचुनावदेखि नै विजयी हुँदै आउनुभएको छ । उहाँ गृह, सूचना तथा संचार, युवा तथा खेलकुद, उद्योग तथा बाणिज्य मन्त्री भैइसक्नु भएको छ । खड्का २०४८, २०५१, र २०७० मा विजयी भएर सांसद भइसक्नु भएको थियो भने २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । 

यस्तै कांगे्रेसका केन्द्रीय सदस्यसमेत रहेका हृदयराम थानी दुईपटक सांसद भइसक्नुभएको छ  । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा थानी सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको थियो । त्यसअघि उहाँ राज्यव्यवस्था समिति सभापति समेत हुनु भएको थियो । एमाले पोलिटव्युरो सदस्य यामलाल कँडेल पर्यटन तथा नागरिक उड्डयन मन्त्री भैसक्नु भएको छ । उहाँ यसअघि दुई पटक सांसद भैसक्नु भएको छ ।

अहिलेका सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्ट पनि यसअघि सुर्खेत क्षेत्र नं. ३ का सांसद हुनुहुन्छ । सुर्खेत क्षेत्र नं. १ को ‘क’ मा कांग्रेसका टेकबहादुर सिंह, ‘ख’ मा कांग्रेसका झकबहादुर डांगी र वाम गठबन्धनबाट एमालेका खड्क खत्री, क्षेत्र नं. २ को ‘क’ मा कांग्रेसबाट उम्मेदवार बनेका कमलराज रेग्मी र ‘ख’ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका विन्दमान विष्ट पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । क्षेत्र नं. १ को ‘क’ मा वामगठवन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका ठम्मर विष्ट यसअघि पनि उम्मेदवार बन्नुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष