विशेष प्रचण्डको सभालाई लक्षित गरी वम विष्फोट
Ujyaalo

कपिलवस्तु, मंसिर १६ –जिल्लाको मायादेवी गाउँपालिकाको पकडीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने सभालाई लक्षित गर्दै वम विष्फोट गराइएको छ ।

आमसभालाई पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेलगत्तै सभास्थल नजिकै ठूलो आवाजमा विष्फोट भएको छ । अध्यक्ष दाहालले सम्वोधन गरेको मञ्चको झण्डै १ सय मिटरको दूरीमा विष्फोट भएको हो । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणहरुको भागाभाग भएको छ । घटनास्थललाई नेपाली सेनाको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

विष्फोट गराउन संलग्न हुने कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको. छ । सभा समापन भैसकेका कारण भने विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । यसै गरी शुक्रवार दिउसो नयाँ शक्ति पार्टी नेपालका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईलियास मुसलमानको गाडीमा पनि वम विष्फोट गराइएको थियो । शुक्रवार राति नै संघीय राष्ट्रिय मंच थरुहटका प्रदेशसभा १‘क’ का उम्मेदवार दिनेश जयसवालको घरमा पनि विष्फोट गराइएको छ । विष्फोटका कारण सामान्य क्षति भएको छ ।

शुक्रवार मात्रै जिल्लाका विभिन्न ३ स्थानमा वम विष्फोट भैसकेको छ । जिल्लामा थप वम विष्फोटका घटनाहरु हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा संपन्न गराउन जिल्लाका ३ वटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा वम विष्फोटका घटनाहरु बढ्न थाले पनि घटनामा संलग्न कोही पक्राउ भएका छैनन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्दको गृह जिल्ला रहेका कारण पनि जिल्लामा थप घटनाहरु हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था निकै मजवुत बनाईरहेको बताएको छ ।

Share It

Post Comments
थप विशेष