विशेष मन परेको उम्मेदवारलाई मत हाल्ने वातावरण बनाईदिन सुर्खेतका दृष्टिविहीनको माग
Ujyaalo

प्रकाश पन्त/उज्यालो ।

सुर्खेत, मंसिर १७– सुर्खेतका दृष्टिविहीन मतदाताले आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने वातावरण सृजना गर्न माग गरेका छन् ।

यसअघि भएको स्थानीय तह चुनावमा उनीहरुले आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न नपाएको गुनासो गरेका हुन् । उनीहरुले दृष्टि कमजोर भएका कारण आफूहरुको मत घर परिवारका अन्य सदस्यले हाल्ने हुँदा घरका सदस्यको रोजाईको उम्मेदवारको पक्षमा मतदान हुने गरेको उल्लेख गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा भएको मतदाता शिक्षा सम्बन्धी कार्यक्रममा उनीहरुले आफूलाई सहयोगीले नै झुक्काएर भोट हाल्दा आफ्नो रोजाईको उम्मेदवारलाई भोट हाल्ने अधिकारवाट पूर्णरुपमा वञ्चित भएको अनुभुति गरेको बताएका छन् ।

नेत्रहिन संघ सुर्खेतका सचिव सोमना खड्काले सहयोगी मार्फत भोट हाल्दा गोपनियता भङ्ग हुने भन्दै मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा विकल्प खोज्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । अबको चुनावमा आयोगले मेसिनवाला ब्रेललिपीसहितकोे मतपत्रबाट भोट हाल्ने व्यवस्था गर्नुपर्ने खढ्काले बताउनुभयो ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले दृष्टिविहीनहरुले उठाएको माग जाहेज भएको उल्लेख गदै समस्या समाधानको लागि सवै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । एकल महिला समाज सुर्खेतका अध्यक्ष शितलसिंह राठौरले महिला, जेष्ठनागरिक र दृष्टिविहिनहरुलाई आफ्नो रोजाईको उम्मेदवारलाई भोट हाल्न सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सुनिता थापाले दृष्टिविहनीहरुले गरेको संकेतको आधारमा उनीहरुको मत आफन्तको रोवहरमा मतदान अधिकृतले हाल्न सक्ने बताउनुभयो ।

 

Share It

Post Comments
थप विशेष