विशेष भोट दिने तयारीमा रहेका पाइलट भन्छन्, ‘आकाशमा उड्दाभन्दा जमिनमा गुड्दा डर लाग्छ’
Ujyaalo

विष्णु बश्याल/उज्यालो ।

काठमाडौं, मंसिर १७ – ‘२० हजार घण्टा त म आकाशमै उडेछु । मलाई त आकाशमा उड्दाभन्दा जमिनमा गुड्दा डर लाग्छ । यहाँको अव्यवस्थित ट्राफिक, जताबाट पनि बाटो काटेको हुन्छ, गाडी र मोटरसाईकल दगुरिरहन्छन्, कहिले ठोक्ने हो डर लाग्छ काठमाडौंमा त’ झण्डै ४० वर्ष हवाइजहाज चलाएका पुष्पराज शाक्यको भनाई हो यो ।

काठमाडौं बुद्धनगरमा घर भएका शाक्यले झण्डै ३७ वर्ष नेपाल वायुसेवा निगममा र ३ वर्षजति भारतको हवाई कम्पनी ब्लुडार्टमा पाइलटको काम गर्नुभयो । उहाँलाई काठमाडौंको अव्यवस्थित सडक देख्दा लाग्छ, आकाश नै धेरै सुरक्षित छ ।
नेपालमा सरकारमा पुगेका नेताहरु आफ्नो स्वार्थमा केन्द्रित रहँदा कुनै पनि क्षेत्रको राम्ररी विकास हुन नसकेको उहाँको बुझाई छ । यहाँको राजनीतिक पद्धतिप्रति तीव्र आक्रोश पोख्दै उहाँ भन्नुहुन्छ ‘नेपालमा त राजनीति नै छैन । यो त सबै किनबेच मात्रै हो । आफ्ना मान्छेलाई जागिर दिने, यताउता गर्ने, काम चलाउ गर्ने, थामथुम गर्ने त्यत्ति मात्रै हुन्छ यहाँ । म देश बनाउँछु भनेर त बोल्ने मात्रै हो । के गरेका छन् र यतिका वर्षमा हेर्दा । मेलम्चीको पानीले नुहाइदिन्छु भनेकै २० वर्ष भइसक्यो । बल्ल बल्ल अहिले आउला जस्तो लाग्या छ । तैपनि यो पाइप बिच्छ्याएको, कुहिसक्यो होला, फुटिसक्यो होला ? काठमाडौं त सबै अस्तव्यस्तै लाग्छ ।’

काठमाडौं मात्रै नभई देशको समग्र विकासका लागि सुझबुझ भएका व्यक्ति राज्य सञ्चालनमा रहनुपर्ने उहाँको मत छ । ‘नयाँ बस्ती भएका ठाउँमा टाउन प्लानिङ राम्रोसँग गर्नुपर्छ । बाटो बढाउन नमिलेको ठाउँमा आकाशेपुलबाट मोनो रेल तथा मेट्रो रेलको व्यवस्था गर्न सके राम्रो हुनेथियो’ उहाँको भनाई छ ।

ललितपुर पुल्चोक घर भएकी अनिता श्रेष्ठलाई पनि नेपाल विकासमा पछि परेकोमा दुःख लाग्छ । काठमाडांै नयाँबानेश्वरमा रहेको कोलम्बस स्कूलमा प्रधानअध्यापक समेत रहनुभएकी श्रेष्ठले राज्य संचालनमा बसेका नेता इमान्दार भइदिए नेपाल विश्वका विकसित देशभन्दा पछि नपर्ने बताउनुभयो । ‘हामी अमेरिकामा स्थायी बासिन्दाको मौका पाएर पनि त्यहाँ बसेनौं । आफ्नै देशको माया लागेर फर्कियौं । म अमेरिका, जर्मन, स्वीट्जरल्याडजस्ता विकसित देशमा पनि घुमेर आएँ । मलाई नेपाल नै मन पर्छ । नेपाल धेरै सुन्दर छ तर यहाँका नेतामा सुन्दरता देखिएन । इमान्दार भएनन् । त्यस्ता नेतालाई के भोट दिनु ? उहाँले प्रश्न गर्नुभयो ।’ 

भोट दिए पनि खुशीले दिन नपाएको उहाँको अनुभव छ, ‘अहिले पनि भोट दिउँ कि नदिउँ जस्तो भइराखेको छ । उही पुरानै नेता हुन् के गर्छन् कुन्नी जितेर ? बरु नयाँलाई अवसर दिए हुन्थ्यो नि केही नयाँ योजना ल्याउँथे कि ? सत्ता, दल र आफ्नै परिवारमा सीमित छन् यहाँका नेताहरु ।’

काठमाडौं कमलपोखरी घर भई एउटा मन्दिरमा पुजारीको काम गर्र्दै आउनुभएका पुष्करराज पाण्डेलाई चाहिँ नेताहरु सबै झुट हुँदा रैछन् भन्ने लागेको छ । २०२५ सालदेखि काठमाडौंको वातावरणलाई अनुभव गर्नुभएका पाण्डे भन्नुहुन्छ, ‘नेताहरु भोट माग्दै आइरहेका छन् । समस्या सुनायो भने सबै हुन्छ भन्छन् अनि भाग्छन् । अर्को चुनावमा आउँदा पनि त्यस्तै हुन्छ यी नेताहरुको चरित्र । गर्नै दिएनन् भन्ने, दोष अरुलाई थुपार्ने त्यत्ति मात्रै हो ।’ उहाँले आफ्नो समस्या सुनाउँदै भन्नुभयो, ‘हाम्रोमा चाहिँ ढलनिकास छैन तर ढलको पैसा भनेर उठाइरहेको छ । मैले त यो ढलको समस्या जस्ले समाधान गरिदिन्छ, त्यसैलाई भोट दिने भनेको छु ।’ 

काठमाडौंको धुलो, हिलो, खाल्डा, खुल्डी वर्षौंदेखि झेलिरहेको भन्दै उहाँ भन्नुहुन्छ, ‘यस्ता विषयतिर यिनीहरुलाई सोच्ने फुर्सद नै छैन, अहिले पनि जाँगरिला नेता भेट्नै गाह्रो छ । पुराना नेतामा त्यस्तो जाँगर छैन, गरे नयाँले केही गर्छन कि ?’

ललितपुर जाउलाखेल घर भई काठमाडौं महानगरपालिकामा कार्यरत मेनुका थापा अहिले चुनावमा खटिनुभएको छ । उहाँलाई ठाउँ ठाउँमा बम पड्काएको खबर सुन्दा डर लागेको छ । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भइदिए हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । नागरिकको मत पाएर सत्ता संचालनमा पुगेका नेतालाई आफ्नो स्वार्थमा मात्रै नभुल्न उहाँको सुझाव छ । थापा भन्न्ुहुन्छ, ‘जितेपछि काम त गर्नपर्ने हो क्यारे । आफू उठेपछि त्यहाँको विकास गर्न सक्ने नेता होस् । देश विकास गरोस् । भत्केको बाटोहरु बनाओस् । धुवाँधुलो नहोस् । ढलको व्यवस्थापन राम्रो होस् । गाडी जाम भइराख्छ त्यो समस्या पनि समाधान गरोस् ।’  भोट माग्न आउँदा आफूले बोलेको कुरा पूरा गरिदिए मात्रै पुग्ने भन्दै थापाले आफ्नो बोली नविर्सन आग्रह गर्नुभयो । 

सिन्धुपाल्चोकमा पुरानो बस्ती, तनहुँ डुम्रेमा व्यापार गरी अहिले काठमाडौं बानेश्वरका बासिन्दा नेत्रबहादुर बानियाँलाई लागेको छ नागरिकलाई नेताहरुले कमिलालाई चिनी छर्किएर भुलाए जस्तो गर्न खोजेका छन् । तर नागरिक सचेत हुनुपर्ने र राम्रो, सक्षम उम्मेदवारलाई जिताउनुपर्ने उहाँको सुझाव छ । बानियाँ भन्नुहुन्छ, ‘आफूले सकेको काम गरिदिए पुग्छ । यिनीहरुलाई जिताएर काम गर्ने ठाउँमा पु¥याएको छ अब त्यहाँभन्दा कति गर्ने त ? गर्दै गर्दैनन्, गरे नहुने के रैछ र ? त्यत्रो लोडसेडिङ हुने यो देशलाई लोडसेडिङमुक्त पार्न पनि त सकिदोरैछ नि तर गर्दैनन् नेताहरुले । भाषणले मात्रै देश बन्दैन । ५० ओटा कुरा बोल्छ गर्ने बेलामा एउटा नि गर्दैन् ।’
नेताहरुले बोलेको आफूलाई सुन्नै मन नलाग्ने भन्दै उहाँले क्षमता नभएका पुराना नेतालाई हैन सक्षम युवालाई जिम्मा दिइनुपर्ने बताउनुहुन्छ । ‘पुराना नेताहरुलाई सल्लाहकार बनाउन सकिन्छ नेतृत्व दिने होइन । ६४ वर्षको उमेरमा मैले परिवारका सदस्यलाई मिलाउन सकिरहेको छैन ७०, ८० वर्षका नेताहरु देश चलाउँछु भन्छन्, कसरी हुन्छ र ?’ नेतृत्वतहमा लोभ नगर्ने व्यक्तिलाई पु¥याउन सके उसले सबैको हितमा काम गर्ने उहाँको निष्कर्ष छ ।
अहिले १२ कक्षामा अध्ययनरत ललितपुर भैँसेपाटिकी प्रतीमा चापागाईँलाई राजनीतिका धेरै कुरा त थाहा छैन तर नेपालको अनुहार राम्ररी हेर्नुभएको छ । ‘यहाँ जथाभावी फोहोर फालेको मन पर्दैन । बाटो बिग्रेको हुन्छ बनाउदैन, भोट मलाई देउ मात्रै भन्छ । जितेर नेताहरुले गरेको भए त हाम्रा शहर पनि अहिले विश्वका सफा र सुन्दर शहरमा परिसक्थ्ये होला’ उहाँको गुनासो छ । अहिले चुनावमा भोट माग्दै घरदैलो गर्ने नेताहरुलाई उहाँको सुझाव छ, ‘चुनावको बेला नहुँदा पनि नागरिकको चाहना के छ भनेर बुझ्न घरदैलो गर्नुप¥यो । उनीहरुको अधिकार कसरी दिलाउन सकिन्छ त्यो पनि त ख्याल गर्नुप¥यो नि ।’ 

Share It

Post Comments
थप विशेष