विशेष प्रचण्डलाई बाँदरमुढे घटना पीडितले गरे स्वागत
Ujyaalo

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, मंसिर १७ – बाँदरमुढे घटना पीडितले आइतबार पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई औपचारिक रुपमा स्वागत गरेका छन् । माडीमा आयोजना गरिएको जनसभामा पुग्नुभएका प्रचण्डले सभा सुरु हुनुभन्दा अगाडि पीडितहरुसँग वार्ता गरी ३ बुँदे सम्झौता गर्नुभएकोले उहाँलाई उनीहरुले स्वगत गरेका हुन् ।

माडीमा आयोजना गरिएको जनसभाअघि प्रचण्डले माडी नगरपालिकाको कार्यालयमा पीडितसँग छलफल गरी सम्झौता गर्नुभएको हो । सम्झौता पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पीडितका पक्षबाट पाँचजनाको हस्ताक्षर रहेको पीडित परिवार मध्यका एक सुदिप न्युरेले जानकारी दिनुभयो ।

पीडितसँगको छलफलमा प्रचण्डले सम्झौतापूर्ण रुपमा कार्यान्वयन गर्ने भन्दै पीडितहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो । सम्झौता पश्चात पहिलो पटक माडीमा बाँदरमुडे घटना पीडितहरुले प्रचण्डको स्वागत गरेका छन् ।

मृतकका परिवार मध्ये काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेका लागि जीवनवृत्ति र बालवालिकाको पठनपाठनको व्यवस्था गरिने सम्झौतामा उल्लेख गरिएको छ । यस्तै घाइतेहरुको अवस्था हेरी औषधि उपचार गर्ने ,काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार प्रदान गर्ने र नसक्नेलाई जीवनवृत्ति प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

वार्तासँगै सम्झौताको क्रममा बाँदरमुडे घटना पीडित संर्घष समितका अध्यक्ष लगायत केही पीडितहरुको भने सहभागिता रहेको थिएन ।

 

Share It

Post Comments
थप विशेष