विशेष सदरमुकामकै मतदाता भन्छन्–भोट हाल्ने तरिका थाहा छैन
Ujyaalo

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर, मंसिर १७ – उदयपुरको सदरमुकाम गाईघाटबाट ५ सय मिटरको दूरीमा भएको मुसहर बस्तीका बासिन्दालाई मतदाता शिक्षा पुगेको छैन । चुनाव आउन चार दिन मात्र बाँकी रहँदासम्म पनि मतदाता शिक्षाका लागि खटिएका कर्मचारी तथा दलका नेता भोट माग्न समेत पुगेका छैनन् ।

त्रियुगा नगरपालिका वडा नं. १२ मा रहेको मुसहर बस्तीमा अहिलेसम्म मतदाता शिक्षा दिन कोही पुगेका छैनन् । यो टोलमा मुसहर समुदायका १५ घर रहेका छन् । समुदायका घेरै जसो महिलालाई भोट दिने तरिका थाहा छैन । टोलका महिलालाई चुनाव हुँदै छ भन्ने विषयमा थाहा त छ, तर केको चुनाव हुँदैछ भन्ने विषयमा भने जानकारी छैनन् ।

‘दिनमा २ पटक टेम्पोमा प्रचार गर्दै हिँड्छन् तर भोट माग्न घरमा कोही पस्दैनन्’ स्थानीय मुन्द्री सदाले भन्नुभयो । सदरमुकाम नजिकैको मुसहर बस्तीमा त मतदाता शिक्षा पुगेको छैन भने अन्य क्षेत्रका मुसहर बस्तीमा चुनावको बारे जानकारी नै नभएको समाजसेवी अगुवा मुसहर विनोद सदाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मतपत्रको बारेमा मुसहर समुदायका कसैलाई पनि जानकारी छैन’ । दलित बस्तीका मतदातालाई चुनावको चासो छैन । बिहानदेखि हातमुख जोर्नका लागि कोही माछा मार्न, कोही गिट्टी चाल्न, कोही अर्काको ज्याला मजदुरीमा जाने गरेकाले पनि चुनावको बारेमा चासो नभएको कृष्णा कुमारी सदा बताउनुहुन्छ ।

जिल्लामा रहेका ९८ मतदान केन्द्रमा १ जानाको दरले मतदाता शिक्षका लागि खटाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षाको लागि एक महिना अगाडिदेखि स्वयंमसेवक खटाएको र ति स्वयंमसेवकले मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एउटा दलको नेताले चुनावको अघिल्लो दिन आएर भोज खुवाउने आश्वासन दिएर गएको नाम नखोल्ने सर्तमा एकजना मुसहरले बताउनुभयो । उहाँले थप्नुभयो ‘दललाई कसरी मत बढाउने भन्ने चिन्ता छ, तर मत हाल्ने तरिका सिकाउने फुर्सद कसैलाई छैन ।’

चुनावको बेला सबै दलका नेता कार्यकर्ता आएर आश्वासन दिन्छन्, तर चुनाव जितेर गएपछि कसैले पनि नहेरेको दुखेसो दलितहरुको छ । उदयपुरमा रहेका ४ गाउँपालिका र ४ नगरपालिकामा गरी जम्मा ८० भन्दा बढी दलित बस्तीहरु छन् ।

 

Share It

Post Comments
थप विशेष