विशेष प्रदिप ज्ञवाली र चन्द्र भण्डारी : यसपाली कसको पल्लाभारी ?
Ujyaalo

गुल्मी, मंसिर १७ – गुल्मी क्षेत्र नम्बर १ मा एमाले माओवादी गठबन्धनबाट प्रदिप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारीबिच कडा प्रतिष्पर्धा हुने भएको छ । अघिल्लो चुनावमा निकै कडा टक्कर दिएर हारेका प्रदिप ज्ञवाली यसपटक नतिजा आफनो पक्षमा ल्याउने जोडमा हुनुहुन्छ भने चन्द्र भण्डारी आफनो क्षेत्र जोगाउने दाउमा हुनुहुन्छ ।

वाम गठबन्धन भएसँगै ज्ञवालीलाई निकै सजिलो बनेको बाहिरी आँकलन छ । तर चन्द्र भण्डारी पनि उही हिसाबले मैदानमा उत्रिएकाले दुवै नेता कसले जित्छ भनेर अनुमान गर्न गाह्रो छ भन्नेहरु पनि छन् ।

पार्टीभित्र र बाहिर दुबै नेताको नाम चर्चामा रहेको छ । ज्ञवाली लगातार गुल्मी क्षेत्र नम्बर २ बाट २ पटक निर्वाचित हुनुभएको थियो भने एकपटक मन्त्री समेत बन्नुभएको छ । भण्डारी गुल्मी क्षेत्र नम्बर २ बाट १ पटक निर्वाचित हुनुभएको छ ।

०६४ सालमा पहिलो संविधानसभा चुनावमा एमालेबाट ज्ञवाली र कांग्रेसबाट भण्डारी चुनावी मैदानमा हुनुहुन्थ्यो । त्योबेला भण्डारी पराजित हुनुभएको थियो । ०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा भने ज्ञवाली भण्डारीसँग पराजित हुनुभएको थियो । असारमा भएको स्थानीय तह चुनावमा हालको क्षेत्र नम्बर १ मा रहेका ६ तहमध्ये ४ वटामा कांग्रेस र २ मा एमालेले जित हात पारेको थियो ।

कार्यकर्ताको नजरमा दुवै नेता

ज्ञवालीलाई विकास क्षेत्रमा कम चासो राख्ने तर पार्टीको काम र देशको केन्द्रीय राजनीतिमा मात्र ध्यान दिने गरेको आरोप एकथरीको छ । जिल्लाको लागि निकै महत्वपूर्ण गौरवका योजनाहरु अगाडि बढाएपनि प्रचारबाजीतर्फ नलाग्ने कारणले पनि आफूमाथि आरोप आउने गरेको ज्ञवालीको तर्क छ । समग्र जिल्लाको विकासका लागि प्रभावकारी काम गरेको उहाँको दाबी रहेको छ ।

कांग्रेसबाट उम्मेदवार बनेका भण्डारीलाई चाहिँ काम भन्दा कुरा र प्रचारमुखी रहेको आरोप लाग्ने गरेको छ । समग्र जिल्लाको गौरवको काम भन्दा पनि आफ्ना मतदाता व्यक्ति विशेषका काम बढी गर्ने अरु पार्टीले आरोप लगाउने गर्छन् ।

स्थानीय तहको मत कस्तो ?

पुराना २ निर्वाचन क्षेत्रलाई गाभेर एउटा निर्वाचन क्षेत्र बनेको गुल्मी क्षेत्र नम्बर १ मा स्थानीय तह र पुरानो मतलाई समेत आँकलन हेर्दा बाम गठबन्धन शक्ति बलियो देखिएको छ । यस क्षेत्रमा पर्ने कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा कांग्रेसको प्रमुख र उपप्रमुखमा एमाले र वडाहमा पनि एमालेकै उम्मेदवारहरुले बहुमत ल्याए जितेका थिए ।

त्यस्तै रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख र वडाहरुमा पनि बहुमत ल्याएको थियो । कांग्रेसले भने गुल्मी दरवार गाउँपालिका र आदा गाभिएको रेसुंगा नगरपालिकामा मात्रै बहुमत रहेको छ ।

कांग्रेसले आफ्नो मुख्य गड मानिएको रेसुङ्ग नगरपालिका दुबै क्षेत्रमा बिभाजनले पनि मत तलमाथि पर्ने देखिएको छ ।

उम्मेदवार छनोटको प्रभाव

वाम गठबन्धनले उम्मेदवार छनोटमा समेत मिलाएर ल्याएकाले प्रदेश सभादेखि प्रतिनिधिसभाका उम्मेदवारलाई जित्न सजिलो पर्ने कार्यकर्ताहरुको तर्क रहेको छ । कांग्रेस स्थानीय स्तरमा भिजेका नेता कार्यकर्तालाई उम्मेदवार नदिएर एउटा नेतृत्व पंक्ति समेत असन्तुष्ट बन्दै आएको थियो ।

पार्टीमा लामो समयसम्म काम गर्नेलाई पछि पार्दै निहीत स्वार्थ र नेताका नजिकका नेताहरुलाई टिकट दिएकोले केही नेताहरुले पार्टी भित्रै बिरोध गरेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका प्रदेशसभा तर्फका ब्यक्तिहरु कार्यकर्तामा त्यति नभिजेकोले पनि वाम गठबन्धनलाई अर्को जितको मुख्य आधार खडा गरेको वाम गठबन्धनका नेताहरु तर्क रहेको छ ।

ज्ञवालीको ‘समृद्ध गुल्मी सम्पन्न गुल्मी’

ज्ञवालीले यसपटकको चुनावमा आफूलाई मत दिनुको अर्थ ‘समृद्ध गुल्मी सम्पन्न गुल्मी’ निर्माणको अभियान रहेका बताउनुभएको छ । उहाँले गुल्मीलाई समृद्ध र सम्पन्न बनाउन एमालेलाई मत दिनुपर्ने चुनावी एजेण्डा अगाडि सार्नुभएको छ । जिल्लालाई भौतिक पूर्वाधार सहित कालीगण्डकी करिडोर, रेसुङ्गा बिमानस्थल, रिडी तम्घास सडक जस्ता पूर्वाधारको विकासमा मुख्य ध्यान केन्द्रित रहने उहाँले बताउनुभयो ।

भण्डारीको ५ वर्ष भित्र ‘गुल्मीलाई नमूना गुल्मी’

भण्डारीले ‘गुल्मीलाई नमूना गुल्मी बनाउने सँगै जोडेर मुख्य एजेण्डा अगाडि सार्नुभएको छ । आफू निर्वाचित भएको बेला थालनी गरेका कामहरु पूरा नभएकालाई पूरा गर्ने र नयाँ योजनाहरु पनि समाबेश गरेर अबको ५ वर्ष भित्रका नमूना गुल्मीको मुख्य एजेण्डा ल्याएको उहाँले बताउनुभयो ।

पार्टीका उम्मेदवारको समर्थनले वाम गठबन्धनलाई सजिलो

गुल्मीको इतिहासमा कम्युनिष्टहरु बलियो रहेको आँकलन रहेको छ । २० वर्ष यताको चुनावलाई मुख्य आधार मानेर हेर्दा जिल्लामा कम्युनिष्ट शक्तिहरु बलियो देखिन्छन् । यसले हाल बनेको वाम गठबन्धनले पनि एमालेका उम्मेदवारलाई जित्न सजिलो बनेको विश्लेषण छ । वाम गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चा र नेकपा मालेको उम्मेदवारको समर्थन रहेको छ ।

 

Share It

Post Comments
थप विशेष