विशेष कोइरालाको विरासत भत्काउने पण्डितको दाउ
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर १८ – मोरङमा रहेका ६ वटा चुनाव क्षेत्र मध्ये सबै भन्दा बढी चर्चामा आएको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट डा. शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित बिच चुनावी प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रमा कांग्रेसका कोइरालाको विरासत भत्काउन वाम गठबन्धनका उम्मेदवार पण्डितले कडा चुनावी टक्कर दिँदैछन् ।

मोरङबाट २ पटक लगातार जितेका कांग्रेसका कोइराला विगतको जितलाई फेरि दोहोर्याउन चाहन्छन् । डा. कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको यो समेत चौथो पटक हो ।

२०६४ सालको संविधानसभा चुनावमा साविकको मोरङ क्षेत्र नम्बर ७ बाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका उम्मेद्वार विजयकुमार गच्छदारसँग कोइराला पराजित हुनुभएको थियो । गच्छदारले त्यो क्षेत्र छाडेपछि भएको उप–चुनावमा कोइराला विजयी हुनुभयो । त्यस्तै २०७० को संविधानसभा चुनावमा कोइरालाले गच्छदारलाई पराजित गर्नुभएको थियो ।

अहिलेको प्रतिनिधिसभाको चुनावमा पनि कोइराला र पण्डितबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मुद्धामा डा. कोइराला आफूलाई रक्षात्मक रुपमा प्रस्तुत गर्दैहुनुहुन्छ भने पण्डित स्थानीय एजेण्डालाई लिएर आक्रामक शैलीमा प्रस्तुत हुनुभएको छ । चुनाव नजिकिँदै गर्दा दुबै नेता मतदाता रिझाउन दिन रात खटिएका छन् ।

को हुन् शेखर काइराला ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । शेखर कोइराला केशव कोइराला र नोना कोइरालाका छोरा हुनुहुन्छ । कोइराला परिवार राजनीतिक परिवार भएकोले शेखर कोइरालाले सुरुदेखि नै कांग्रेसबाट राजनीति गर्नुभयो । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै शेखर राजनीतिमा सक्रिय हुनुभएको हो ।

वीर अस्पताल, कोशी अञ्चल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर भएर काम गर्दा कोइरालाले आफूलाई नेपाली कांग्रेसबाट कहिल्यै अलग राख्नुभएन । विराटनगरमा काम गर्दा उहाँले तत्कालीन अञ्चलाधीश र प्रहरी अधिकृतहरुसँग टक्कर लिँदै नेपाली कांग्रेस र प्रजातन्त्रका लागि काम गर्नुभयो ।

पेशाले फिजिसियन कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षाध्यक्ष र उपकुलपति भएर समेत काम गर्नुभयो । २०६४ सालको संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ७ बाट तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालका उम्मेदवार विजयकुमार गच्छदारसँग कोइराला पराजित हुनुभएको थियो । गच्छदारले त्यो क्षेत्र छोडेपछि भएको उप–चुनावमा कोइराला १२ हजार ७१ मत प्राप्त गरी विजयी हुनुभयो । २०७० सालको चुनावमा पनि उहाँ यहि क्षेत्रमा विजयी हुनुभयो ।

पटक पटक विजयी भएका कोइरालाले चुनाव जितेर गएपछि कामै नगरेको नागरिकको दुखेसो छ । गाउँ होस या वडामा जाँदा काम गर्न नसकेका कोइराला भन्ने मतदातालाई बुझाउन निक्कै गाह्रो परेको कांग्रेस निकटका कार्यकताहरु बताउछन् । विराटनगरको विकासको नारा र राजधानी बनाउने भन्दै मतदातालाई प्रभाव पार्दै आएका काइरालाले हिजोका दिनमा काम गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा काम गरेर देखाउने बताउनु भएको छ ।

कोइरालाले विराटनगरलाई प्रदेशको राजधानी बनाउने भनेर मतदाता कहाँ पुग्दा विराटनगर महानगरपालिका बनाउन नदिएको भन्दै धेरै ठाउँमा उहाँको आलोचना भएको छ । चक्रपथलाई मिलाएर महानगर बनाउने योजना सहित पेश भएको स्थानीय खाकामा कोइरालाले असन्तुष्टि जनाएपछि बैजनाथपुर र बुधनगरको केही क्षेत्रलाई मिलाएर विराटनगर महानगरपालिका घोषणा गरिएको थियो । त्यसैको आक्रोश मतदातामा परेको विश्लेषण गरिन्छ । तर यति हुँदा हुँदै पनि कोइराला परिवारको आफ्नै छबि भएकोले कोइरालालाई जिताउनको लागि सबैको पहल देखिन्छ । चुनावमा कोइरालाले पण्डितलाई ४ हजार भन्दा बढी मतले जित्ने दाबी गर्दै आउनु भएको छ ।

समान्य प्रशासन मन्त्री हुँदा गरेका काम र शालिन जीवनशैलीले पण्डित चर्चामा

नेकपा एमाले पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको जन्म २०१५ सालको मंसिर १९ गते सर्लाहीमा भएको हो । कक्षा ५ सम्म घरमै अध्ययन गरेका पण्डितले पद्म पब्लिक हाईस्कुल, पाल्पाबाट एसएलसी दिनुभएको हो । उहाँले थापाथली क्याम्पसबाट इन्जिनियरिङ गर्नु भएको हो । नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुँदै उहाँले २०३५ सालबाट राजनीतिक यात्रा थाल्नुभयो ।

विस २०४६ र ०५६ सालको चुनावमा विजयी पण्डित २०६४ सालको चुनावमा समानुपातिकबाट सभासद हुनुभएको थियो । २०५१ सालमा सुकुमवासी समस्या समाधान आयोग मोरङको अध्यक्ष भएर समेत काम गरेका पण्डित २०७० सालमा सामान्य प्रशासनमन्त्री हुनुभयो । त्यसपछि पण्डित काम र जीवनशैलीका कारण लगातार चर्चामा हुनुहुन्छ ।

ग्रिनकार्ड, पीआर लगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याएपछि पण्डित राष्ट्रवादी नेताको रुपमा चर्चामा आउनुभयो । नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपैयाँ फिर्ता गरेपछि पण्डितलाई इमानदार राजनीतिज्ञको रुपमा हेरियो ।

यस अघि साविकको मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका पण्डिको लागि मोरङ चुनावी क्षेत्र नम्बर ६ नयाँ हो । राजनीतिक रुपमा अनुभवी र ईमान्दार नेता लालबाबु पण्डितलाई कार्यकर्ता भित्र राम्रो नेताको रुपमा लिईएपनि कतिपय मतदाताको लागि उहाँ नयाँ अनुहार हुनुहुन्छ । वर्षौसम्म जितेर गएकाहरुले काम नगरेका कारण मतदाताले विश्वास गर्ने पण्डितको भनाई छ । त्यसैले पनि कोइरालालाई चुनाव जित्न चुनौती देखिन्छ ।

दुवै नेताको जित्ने दाबी

मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यको लागि दुबै नेताले चुनाव जित्ने दाबी गरेका छन् । दुवै नेता मतदाताको मन जित्न अहोरात्र लागेका छन् । बिहान ६ बजेदेखि सुरु हुने यि नेताको घरदैलो र भेटघाट कार्यक्रम राति ११ बजेसम्म निरन्तर चलेको हुन्छ । कोइरालाको राजनीतिक उद्गम थलो विराटनगरमा आफ्नो विरासत कायम राख्न शेखरलाई हम्मे हम्मे परेको देखिन्छ । एमालेले नागरिकमा राम्रो छबि बनाएका नेता पण्डितलाई प्रतिस्पर्धामा पठाएपछि अहिले यो क्षेत्रको चुनावी रौनक अन्य क्षेत्रको भन्दा फरक देखिन्छ ।

स्थानीय तहको मत परिणाममा शेखर कोइराला बलिया

मोरङ क्षेत्र नम्बर ६ को मत परिणामलाई हेर्दा स्थानीय तहमा कांग्रेस र लोकतान्त्रिक फोरमको २७ हजार ९ सय ९७ मत देखिन्छ । वाम गठबन्धनको २६ हजार तीन सय ८० मत देखिएको छ । स्थानीय तहको चुनावी मतपरिणलाई हेर्दा कांग्रेसले केही बढी मत प्राप्त गरेको छ । स्थानीय तहको भन्दा अहिलेको चुनाव फरक भएकाले कसले चुनाव जित्छ भन्न सकिने अवस्था छैन ।

मोरङ चुनाव क्षेत्र नं. ६ मा मतदाता एक लाख १० हजार तीन सय २२ रहेको छन् । लोकतान्त्रिक फोरमले जितेको बुढीगंगा गाउँपालिकामा थारु बाहुल क्षेत्र भएकोले पनि यहाँका मतदाता जस्तो नेता आए पनि काम गर्ने नेताको खोजीमा देखिन्छन् । अहिलेसम्म जिताएर पठाएका नेताहरुले केही काम नगरेको उनीहरुको आरोप छ ।

Share It

Post Comments
थप विशेष