विशेष मकवानपुर १ मा कमल थापा कि कृष्णप्रसाद दाहाल ?
Ujyaalo

हरि हुमागाई/उज्यालो ।

हेटौडा, मंसिर १८– मकवानपुर क्षेत्र नम्बर १ मा १८ वर्षपछि पुराना दुई प्रतिष्पर्धी मैदानमा उत्रिएका छन् । उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा र एमाले तीन नम्बर प्रदेश कमिटीका सदस्य कृष्णप्रसाद दाहालबीच १८ वर्षपछि चुनावी मैदानमा भेट भएको हो । दाहालले थापालाई यसअघिका दुईवटा चुनावमा पराजित गरिसक्नुभएको छ ।

मकवानपुरबाट राष्ट्रिय राजनीतिमा रहेर धेरैजसो सत्ता केन्द्रीत राजनीतिमा रहेपनि मकवानपुरका लागि त्यति ध्यान नदिएको र काम नगरेको आरोप लगाउदै दाहालले आफूलाई मौका दिन भन्दै मतदातासँग भोट मागिरहनुभएको छ । थापा भने मकवानपुरमा भएका ठूला विकास निर्माणका कामहरु आफूबाट नै सफल भैरहेको दाबी गर्नुहुन्छ ।

२०४८ सालको आम चुनावमा दाहाल, २०५१ को मध्यावधी चुनावमा थापा र २०५६ को आम चुनावमा फेरि दाहालले चुनाव जित्नुभएको थियो । पञ्चायतकालीन राजनीतिक हस्ती थापा २०६४ सालको संविधानसभा चुनावमा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो हुनुभएको थियो ।
२०६४ को संविधानसभा चुनावमा कमल थापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुनुभयो । २०७० को दोस्रो संविधानसभा चुनावमा भने उहाँले श्रीमती प्रलिता थापालाई क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउनुभयो । एमाले मकवापनुरका नेता कृष्ण दाहाल २०६४ र ०७० दुवै चुनावमा उम्मेदवार बन्नुभएन ।

मकवानपुर क्षेत्र नम्बर १ अन्तर्गत हेटौडा बजार क्षेत्रका मतदाताहरु हेटौडालाई तीन नम्बर प्रदेशको राजधानी बनाउनका लागि केन्द्रीयस्तरको पहुँच भएको नेता कमल थापाले जित्नु आवश्यक रहेको बताउँछन् । पूर्वी ग्रामिण क्षेत्रका धेरै मतदाताहरु भने गाउँको समस्या बुझ्न आईरहने नेता भएकाले दाहाल नै ठीक भनिरहेका छन् ।

स्थानीय तहको चुनावलाई नियाल्दा यस क्षेत्रमा वाम गठबन्धनको ४० हजार १ सय ३६ मत देखिन्छ । लोकतान्त्रिक गठबन्धनको ३२ हजार ४ सय ९७ मत छ । स्थानीय चुनावको तथ्याङ्कलाई हेर्ने हो भने करीब आठ हजार कम मत लोकतान्त्रिक गठबन्धनको छ ।

अहिलेसम्मका तीनवटा प्रतिष्पर्धामा दाहालले दुईपटक जित्नुभएको छ भने कमल थापाले एक पटक । यो चुनावमा थापाले दाहाललाई जितेर बराबरी पुर्याउने हुन् वा दाहालले ह्याट्रिक गर्ने हुन् ? यो नै अहिले प्रतीक्षाको विषय बनेको छ ।

 

 

Share It

Post Comments
थप विशेष