विशेष पूर्व मन्त्री र पूर्व राज्यमन्त्रीबिच चुनावी प्रतिस्पर्धा
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, मंसिर १८ – नवलपरासीको बर्दघाट सुस्ता पश्चिम परासी क्षेत्रको चुनाव निकै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । दुई प्रतिनिधिसभा र ४ प्रदेशसभाका लागि हुन लागेको चुनावमा परासी क्षेत्रबाट एकजना पूर्व मन्त्री र ४ जना पूर्व राज्यमन्त्री चुनावी प्रतिस्पर्धामा रहेकाले यस क्षेत्रको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको हो ।

परासी क्षेत्रको प्रतिनिधिसभा १ बाट पूर्व भौतिक योजना तथा आवास मन्त्री हृदेश त्रिपाठी चुनावी मैदानमा रहनुभएको छ । मधेसवादी दलका नेताको रुपमा चिनिनु भएका त्रिपाठी सूर्य चिन्हमा चुनाव लड्नु नै आफैमा विशेष मानिएको छ ।

त्रिपाठी स्वतन्त्र राजनीतिक समूहका रुपमा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनबाट सूर्य चुनाव चिन्ह लिएर चुनावमा होमिनु भएको छ । त्रिपाठीको प्रमुख प्रतिस्पर्धीका रुपमा नेपाली कांगे्रसका पूर्व सांसद देवकरण कलवार रहनु भएको छ ।

वि.स. २०५१ सालबाट लगातार नतिजा आफ्नो पक्षमा पार्दै आउनु भएका नेता त्रिपाठी दोस्रो संविधानसभाकोे चुनावमा भने अहिलेका प्रतिस्पर्धी देवकरण कलवारसँग पराजित हुनुभएको थियो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतिनिधिसभा २ को चुनावमा भने तीनजना पूर्वराज्य मन्त्री चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको हेभिवेटका नेताको रुपमा समेत चिनिने यि उम्मेदवार बिच तीब्र प्रतिस्पर्धा हुने आकंलन गरीएको छ । तीन/तीन जना पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा रहेकाले पनि यहाँको चुनाव झनै रोचक बनेको छ ।

प्रतिनिधिसभा–२ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल, वाम गठबन्धबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व स्थानीय विकासराज्य मन्त्री घनश्याम यादव र राजपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व शिक्षाराज्य मन्त्री गोविन्द चौधरी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

नवलपरासीको परासी क्षेत्रमा अर्का संघीय समाजवादी फोरम नेपालका नेता एवं पूर्वरक्षा राज्यमन्त्री रामबचन यादव समेत चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । उहाँ प्रतिनिधिसभा –२ को प्रदेशसभा ‘ख’ बाट चुनावमा होमिनुभएको छ । उहाँसँग प्रतिस्पर्धामा कांगे्रसका बैजनाथ जसयवाल, राजपाका नगेन्द्र अग्रहरी र वाम गठबन्धनका कन्हैया कोहार चुनावी कैदानमा हुनुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष