विशेष पुरानै उम्मेदवार, पुरानै आश्वासन
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर १८ – यहि मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हुने चुनावको दिन नजिकिँदै गर्दा बर्दियामा चुनावी चहलपहल बढ्दै गएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा क्षेत्र रहेको बर्दियामा मन्त्रीसहित हेभीवेटका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएपछि चुनावी चहलपहल दिनदिनै बढ्दै गएको हो । मतदाताहरु भन्छन् ‘बर्दियामा अधिकांस पुरानै नेता उम्मेदवार छन्, आश्वासन पनि पुरानै सुनाउँदै भोटमाग्दै हिँडेका छन् ।’

बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सिँचाईमन्त्री सञ्जयकुमार गौतम र वाम गठबन्धनबाट एमाले उपाध्यक्ष पूर्व उपप्रधान तथा गृहमन्त्रि वामदेव गौतम बिच कडा प्रतिस्पर्धा हुँदैछ । त्यस्तै क्षेत्रनम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठवन्धनबाट कांग्रेसका भूमिसुधार मन्त्री गोपाल दहित र वाम गठबन्धनबाट माओवादी केन्द्रका बिना विभागीय मन्त्री सन्तकुमार थारुबिच प्रतिस्पर्धा छ ।

बर्दियाबाट ५ पटक चुनाव लडनु भएका एमाले उपाध्यक्ष बामदेव गौतम तीनपटक निर्वाचित हुनुभएको थियो । २०७० सालमा बर्दिया र प्युठान दुवै स्थानबाट जितेपछि बर्दिया छोडेर प्युठान रोज्नु भएका कारण चुनाव जितेर पनि बर्दिया छोडनुले यस क्षेत्रका बासिन्दा रुष्ट बनेका छन् । फेरि बर्दिया आएकोमा उहाँको आलोचना र प्रशंसा दुवै हुने गरेको छ । तर उहाँले अबका दिनमा त्यस्तो नहुने र बर्दियाको विकासका लागि आफू लागि पर्ने बताउनुहुन्छ ।

वाम गठबन्धनले आफ्ना चुनावी एजेण्डा भन्दै नागरिकको गास, बास, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोरञ्जनका विषय उठाएको छ । घरवार बिहीन सुकुम्बासी, भूमिहिन, मुक्तकमैया कमलहरी, विषेश अभाव गरिब र उत्पिडित पहिचान गरी बसेका नागरिकलाई पाँच वर्ष भित्रमा सुविधा सम्पन्न आवास, एक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारीसँगै माध्यामिक तहसम्म अनिवार्य तथा निशुल्क शिक्षा, माध्यामिक शिक्षा पास गरेको ६ महिना भित्रै तालिम दिई रोजागारी दिएर शैक्षिक वेरोजगारी हटाउने लगायतका छन् । यी मध्ये अधिकांस एजेन्डा पुरानै छन् ।

२०७० सालमा जित हासिल गर्नु भएका सञ्जयकुरमार गौतम शेरबहादुर प्रधानमन्त्री बनेपछि केही महिना अघि सिँचाई मन्त्री हुनुभएको थियो । सिँचाई क्षेत्रको धेरै काम पूरा गरे पनि अझै धेरै विकास गर्नुपर्नेमा उहाँले गर्न नसकेको बर्दिया बासिन्दाको दुखेसो छ । उहाँले आफूले छोटो समयमा धेरै काम गर्न नसकेको र अबका दिनमा समग्र बर्दियाको विकासका लागि आफू लागि पर्ने बताउनुहुन्छ ।

लोकतान्त्रिक गठबन्धनले पनि आफ्ना चुनावी एजेन्डा भन्दै बर्दिया जिल्लालाई राम्रो जिल्ला बनाउने, सम्बृद्ध जिल्ला बनाउने, मुक्तकमैया, सुकुम्बासी र भूमिहिनहरुको समस्या समाधान गर्ने, विकासका पूर्वाधारहरु निमार्ण गर्ने, जिल्लालाई राष्टिय राजनीतिमा जोड्न्े, नदी कटान, डुबान र नियन्त्रणका समस्याहरु समाधान गर्ने, सदरमुकामलाई राजमार्गसम्म जोड्ने भुरिगाउँ तेलपानी सडक निमार्ण गर्ने, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने, बर्दियालाई पर्यटनको सुरक्षित गन्तव्यको रुपमा विकास गर्ने, कृषि, वन र पर्यटनमा आधारित उद्योगको स्थापना गरि यस क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने लगायतका छन् यी मध्ये अधिकांस एजेन्डा पुरानै छन् ।

वाम गठबन्धनबाट माओवादी केन्द्रका सन्तकुमार थारु यसअघि २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी हुनुभएको थियो । लोकतान्तिक गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल दहित यसअघि संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद हुनुभएको थियो । दहित शेरबहादुर प्रधानमन्त्री बनेपछि केही महिना अघि भूमिसुधार मन्त्रि हुनुभएका दहितले भूमिहिनको समस्या समाधान गर्न नसकेको दुखेसो छ ।

उम्मेदवारहरु पार्टी सशक्तिकरण लगायत कार्यकर्ता भेटघाटमै व्यस्त छन् । नागरिकको घरदैलोसम्म पुग्ने वातावरण निर्माणमा उम्मेदवारहरु जुटेका छन् । चुनावी चहलपहल बढे पनि यसपटक नागरिक धेरै जागरुक भएको केही मतदाताको भनाई छ । नेताहरु चुनावमा आउने जितेपछि मुखै नदेखाउने प्रवृतिले गर्दा विकास नहुने अधिकांस मतदाता बताउँछन् । त्यसैले काम गर्ने उम्मेदवारलाई भोटदिने मनस्थितिमा रहेको सुशीला थारुले भन्नुभयो । यसपटक बर्दियाको मुहार फेर्न सक्ने विकासप्रेमी नेता बर्दियालीको रोजाईमा पर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ३ सय ६२ र क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार १ सय १५ मतदाता रहेका छन् । बर्दियामा दुई गौतम र दुई थारु मतदाताहरुलाई आफ्नो पक्षमा ल्याउन गाउँगाउँमा चुनावी सभा गरीरहेका छन् । आफ्नो प्रतिस्पर्धामा रहेका विपक्षी उम्मेदवार माथि आरोप प्रत्यारोप गर्दै हिँडिरहेका छन् ।

बर्दियाका ४ वटा प्रदेशसभा क्षेत्रमा पनि चुनावी माहौल तातिएको छ । प्रदेशसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका सोदे विष्ट र वाम गठबन्धनबाट एमालेका कविराम थारु चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मंगलप्रसाद थारु र वाम गठबन्धनबाट माओवादी केन्द्रका तिलकराम शर्मा बिच कडा प्रतिस्पर्धा छ ।

त्यस्तै क्षेत्र नम्वर २ (क) मा लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र थापा र वाम गठबन्धनबाट एमालेका कुलप्रसाद पोख्रेल प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नाचुराम चौधरी र वाम गठबन्धनबाट माओवादी केन्द्रका दिपेश थारु बिच कडा प्रतिस्पर्धा छ ।

क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा का लागि दुई गठबन्धनबाट दुवैजना थारु उम्मेदवार बिच कडा प्रतिस्पर्धा देखिन्छ । नागरिक विकासवादी नेतालाई जिताउन चाहान्छन् । बर्दिया जिल्ला थारु बाहुल्यता भएकाले पनि यहाँ थारु मत नै निर्णायक देखिन्छ । यस क्षेत्रको प्रदेशमा पनि थारु र प्रतिनिधिसभामा पनि थारु उम्मेदवार बिच प्रतिस्पर्धा रहेकाले चुनावी माहोल थप तातिएको हो ।

Share It

Post Comments
थप विशेष