विशेष रुपन्देही १ र ५ : सुरक्षित छैनन् वाम गठबन्धनका बिक र आचार्य
Ujyaalo

भवानीप्रसाद पाण्डे/उज्यालो ।

रुपन्देही, मंसिर १८ – प्रतिनिधिसभा तर्फ पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा अहिले चुनावी रौनक उत्कर्षमा छ । अन्य स्थानमा जस्तै यहाँ पनि वाम र लोकतान्त्रिक गठबन्धन नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । वाम गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं १ मा एमालेका पोलिटव्युरो सदस्य छबिलाल विश्वकर्मा र क्षेत्र नं ५ मा माओबादी केन्द्रका केन्द्रीय सदस्य डिलाराम आचार्य चुनावी मैदानमा हुनुहुन्छ ।

बिकले नेपाली कांग्रेसका अब्दुल रज्जाक र आचार्यले कांग्रेस कै भरतकुमार साहको सामना गरिरहनु भएको छ । रज्जाकले २०७० सालको दोश्रो संविधानसभाको चुनावमा बिकलाई नै झिनो मतले पराजित गर्नुभएको थियो भने साहले एमालेका रामनाथ ढकाललाई झिनो मतान्तरले हराउनु भएको थियो ।

२०६४ सालको चुनावमा माओवादीका घनश्याम यादवले रुपन्देही १ मा रज्जाकलाई र एमालेका रामनाथ ढकालले क्षेत्र नं ५ मा साहलाई हराउनु भएको थियो । पहिलो संविधान सभाको चुनावमा गुमाएका यी दुई क्षेत्र २०७० सालमा कांग्रेसले फिर्ता गरेको थियो । यसअघि जस्तै अहिले पनि यी चुनाव क्षेत्रहरुमा तिव्र प्रतिश्पर्धा हुने देखिएको छ । पूर्व पश्चिम राजमार्गले छोएका दुवै निर्वाचन क्षेत्रहरुमा पहाडी र मधेसी समुदायको बस्ती छ ।

क्षेत्र नं १ को तुलनामा वाम गठबन्धनका उम्मेदवारलाई क्षेत्र नं. ५ मा कडा चुनौती सामना गर्नु परिरहेको छ । स्थानीय चुनावको अंक गणित पनि कमजोर भएका कारण माओवादी केन्द्रका उम्मेदवार आचार्यले कडा मेहनत गर्नुपर्ने देखिएको छ ।

क्षेत्र नं १ :

यस क्षेत्रमा १ लाख १२ हजार १ सय ३० मतदाता रहेका छन् । लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अब्दुल रज्जाक र वाम गठबन्धनको तर्फबाट एमालेका छबिलाल विश्वकर्मा चुनावी मैदानमा उत्रिएको क्षेत्रमा स्थानीय चुनावको गणित वाम गठबन्धनको पक्षमा देखिन्छ ।

तर कांग्रेसलाई राप्रपाले पनि सहयोग गरेका कारण यो क्षेत्रको परिणाम आंकलन गर्न सजिलो छैन । विश्लेषकहरुले संविधानसभाको दोश्रो चुनावमा जस्तै अहिले पनि यो क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको बताउछन् । स्थानीय चुनावको आंकडा अनुसार क्षेत्र नं १ मा लोकतान्त्रीक गठबन्धन भन्दा वाम गठबन्धन ४ हजार ५ सय मतले अघि छ ।

यस क्षेत्रमा संघीय समाजवादी फोरमको भोट पनि उल्लेख्य रहेको छ । राजमार्गदेखि दक्षिणी भारतको सीमासम्म समेटिएकाले यो क्षेत्रमा मधेसी समुदायको भोट नै निर्णायक हुने देखिन्छ । गठबन्धनका हिसाबले छबिलाल बलियो देखिए पनि २०७० सालको चुनाव जितेपछि क्षेत्रमा गरेका विकास निर्माणका कामले अब्दुल रज्जाकलाई कमजोर बन्न दिएको छैन ।

क्षेत्र नं ५ :

रुपन्देहीको क्षेत्र नं ५ मा १ लाख ६ हजार १ सय ५३ मतदाता रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भरत साह र वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिलाराम आचार्य चुनावी मैदानमा हुनुहुन्छ । साह र आचार्यलाई संघीय समाजवादी फोरमका मोहम्मद वकिल मुसलमानले चुनौती दिइरहनु भएको छ ।

साह संविधानसभाको दोश्रो चुनावमा यही क्षेत्रबाट विजयी हुनु भएको थियो । आचार्य भने २०६४ सालपछि पहिलोपल्ट चुनावको सामना गरिरहनु भएको छ । २०५६ सालमा एमाले संगको तालमेलका कारण राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्नुभएका आचार्य अर्घाखाँचीको क्षेत्र नं १ बाट विजयी हुनु भएको थियो ।

तर संविधानसभाको पहिलो चुनाव २०६४ मा राष्टिय जनमोर्चाको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका आचार्य माओवादीका टोपबहादुर रायमाझीसँग पराजित हुनुभएको थियो । अहिले भने रायमाझी र आचार्य एउटै पार्टी भित्र हुनुहुन्छ । संयोग के बनेको छ भने २०५६ सालमा एमालेको समर्थनमा सांसद बनेका आचार्य अहिले एमालेकै समर्थनमा रुपन्देही क्षेत्र नं ५ मा माओवादी केन्द्रको उम्मेदवार बन्नुभएको छ ।

कांग्रेसका साहले २०६४ सालपछि आचार्यलाई नयाँ प्रतिस्पर्धीका रुपमा पाउनु भएको छ । यो रुपन्देहीको यस्तो क्षेत्र हो जहाँ वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धन बढी छ । स्थानीय चुनावको आँकडा हेर्दा वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन २ हजार बढी मतले अगाडि रहेको छ ।

यस क्षेत्रमा संघीय समाजवादी फोरम र राजपाको मत पनि उल्लेख्य रहेको छ । अधिकांस मधेसी समुदायको मत रहेको यस क्षेत्रमा मधेसी समुदाय भित्रको चलायमान मत नै निर्णायक हुने छ । वाम गठबन्धन अनुसार एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र पाएको माओवादी केन्द्रका उम्मेदवार क्षेत्र नं ५ मा आँकडाको हिसाबले कमजोर नै देखिनुहुन्छ । तर स्थानीय चुनावको आँकडालाई नै आधार मानेर विश्लेषण गर्न त नसकिएला तर अनुमान गर्न भने हतारो नै हुनेछ ।

Share It

Post Comments
थप विशेष