विशेष स्याङजा–१ मा कांग्रेसका थापा र एमालेका मरासिनीबिच प्रतिस्पर्धा
Ujyaalo

राधाकृष्ण डुम्रे/उज्यालो ।

स्याङ्जा, मंसिर १८ – स्याङजाको क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा र एमालेका नारायण मरासिनीबिच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुँदैछ । दुवै उम्मेदवार प्रचार—प्रसारको अन्तिम कसरतमा रहेका छन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा स्याङ्जा क्षेत्र नं. १ बाट विजयी हुनुभएका थापाले नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्नु भएको थियो ।

त्यसबेला १२ सय मत अन्तरले पराजित भएका मरासिनी यो पटक त्यो नतिजालाई उल्ट्याउने दाउमा हुनुहुन्छ ।
संयोग पनि उस्तै मिलेको छ । यसपटक पनि प्रतिनिधिसभा क्षेत्र नं. १ मा थापा र मरासिनीबिच बलियो चुनावी टक्कर देखिएको छ । पूर्व सांसद थापा र पुतलीबजार नगरपालिकाका पूर्व कार्यबाहक मेयर मरासिनी दुवैजना चुनावी प्रचार प्रसारमा लागि परेका छन् । आ–आफ्नो पक्षमा मत ल्याउन दुवैजना उम्मेदवार जुटेका हुन् ।

यसपटक माओवादी र एमालेको मत जोडिने भएपछि आफ्नो पक्षमा नतिजा ल्याउन सकिनेमा मरासिनी विश्वस्त हुनुहुन्छ । २०५४ सालको स्थानीय चुनावमा पुतलीबजार नगरपालिकाको उपप्रमुख पदमा विजयी मरासिनीले तत्कालिन प्रमुख उमेशचन्द थापाको निधनपछि कार्यबाहक प्रमुख भई काम गर्नु भएको थियो ।

अर्काेतर्फ कांग्रेसका युवा नेता राजु थापा लोकप्रिय नेता मानिनुहुन्छ । थापाले एमालेको राम्रो पकड क्षेत्र मानिएको तत्कालीन स्याङ्जा क्षेत्र नं. १ मा चुनाव जित्न सफल हुनु भएको थियो । यस क्षेत्रमा २०४८ बाहेकका सबै चुनावमा एमाले विजयी हँुदै आएको थियो । २०४८ सालमा भने कांग्रेसले जित हात पारेको थियो । थापा पेशाले व्यवसायी समेत हुनुहुन्छ ।

त्यसो त पूर्व सांसद थापा पनि पछिल्लो ४ वर्षयता जिल्लामा भएको विकास आफूले गरेको भन्दै गाउँले जनजीवनमा भिजेको बताउनुहुन्छ । सडक, पुल, विद्यालय जस्ता विकास निर्माणका कार्य गर्न सफल भएकाले मतदाताले कांग्रेसलाई जिताउने बताउनुहुन्छ कांग्रेस स्याङ्जाका प्रवक्ता ईन्द्रबहादुर गोदार बताउनुहुन्छ ।

भर्खर सम्पन्न स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा वाम गठबन्धन कांग्रेसभन्दा अगाडि रहेको छ । थापाको लोकप्रियता अगाडि आफ्नो जित सुनिश्चित हुनेमा एमाले ढुक्क छैन । थापा २०७० दोहोर्याउने दाउमा हुनुहुन्छ तर एमाले र माओवादी एक जुट भएर चुनाव लडेको कारण थापालाई जित्न त्यति सहज भने छैन । स्थानीय तहको चुनावपछि यस क्षेत्रमा थपिएका आठ हजार मतदाता नै चुनावी जितका निर्णाय हुने दुवै उम्मेदवारहरको बुझाइ रहेको छ ।

मतदाता पनि युवाहरुको लागि रोजगारी र विकासको खाका कोर्ने र नेतृत्वको खोजीमा रहेको बताउँछन् । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको स्याङ्जामा वाम गठबन्धनसहित अन्य ९ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । प्रदेश नं. १ को (क) मा कांग्रेसबाट जिल्ला सभापति कमलप्रसाद पंगेनी र (ख) मा तुलसी गिरी उम्मेदवार हुनुहुन्छ भने दीपक थापा र मिनप्रसाद गुरुङ क्रमश प्रदेशसभा १ को (क) र (ख) मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । थापा माओवादी केन्द्र र गुरुङ एमालेबाट उम्मेदवार बन्नुभएको छ ।

विगतका चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा हुनेगरेको थियो । माओवादी केन्द्रको कम प्रभाव रहेको स्याङ्जामा संविधानसभाको दुवै चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले विजयी भएका थिए ।

स्याङ्जामा नेपाली कांग्रेस र वाम गठबन्धनसहित संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय प्रजातन्त्र पाटी, र नेकावीपी गरी १० राजनीतिक दलका ४० जनाले उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो । स्याङ्जा क्षेत्र नं. १ मा १ लाख ८ हजार ६ सय ८९ मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप विशेष