विशेष दाङमा दलहरुले यसरी गरे अन्तिम दिनको प्रचारप्रसार
Ujyaalo

दाङ, मंसिर १८ –चुनावी प्रचारको अन्तिम दिन दाङका उम्मेदवार साझसम्म पनि प्रचार प्रसारमै व्यस्त छन् । सँधै राति अबेरसम्म गाउँगाउँका मतदातालाई भेट्न पुग्ने उम्मेदवारलाई आज भ्याईनभ्याइ भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिलगायतका दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार बजार तथा गाउँमा समूह समूह बनाएर मत मागिरहेका छन् । माओवादी केन्द्रका नेता कृष्णवहादुर महरा, एमाले नेता शंकर पोख्रेल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी सोमबार दिनभर आ–आफ्नो क्षेत्रका मतदातासँगको व्यक्तिगत भेटघाट तथा सामुहिक रुपमा घरदैलोमा रहनुभएको छ ।

दाङको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार एवं निर्वतमान सांसद राजु खनाल दुवै जनालाई यो निर्वाचन प्रतिष्ठाको बिषय बनेको छ ।

मुख्यमन्त्रीको दाबेदारसहित वाम गठवन्धनले एमाले नेता शंकर पोख्रेललाई प्रदेशसभाको उम्मेदवार बनाएकोले उहाँको उम्मेदवारीलाई पनि चासोका साथ हेरीएको छ ।

०६४ सालको संविधानसभा चुनावमा पाँचवटै सिट माओवादीले जितेको थियो भने ०७० सालको संविधानसभा चुनावमा पाँचवटै सिट कांग्रेसले जितेको थियो । स्थानीय तहको चुनावमा जिल्लाका छ तहमा एमाले, तिन तहमा कांग्रेस र एक तहमा माओवादीले जितेका छन् ।

दाङमा हाल कायम रहेका प्रतिनिधिसभा तर्फका ३ र प्रदेशसभाका ६ सिटमा बाम गठवन्धन र नेपाली कांग्रेसबिच नै मुख्य प्रतिष्पर्धा रहेको धेरैको भनाई छ ।

यसैबिच दाङका १ सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रमा लागि ३ हजार भन्दा बढी कर्मचारी र ४ हजार भन्दा बढी सुरक्षाकर्मी आवश्यक सामग्री सहित सम्बन्धित मतदान केन्द्रमा खटिसकेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।

कर्मचारी आजै सम्बन्धित मतदान स्थलमा पुगेर भोली र पर्सी मतदाता परिचय पत्र वितरण गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

 

Share It

Post Comments
थप विशेष