विशेष मतपत्र च्यात्नेलाई मतगणनामा नराखिने
Ujyaalo

चितवन, मंसिर १९ –स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ ।

मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही एक–एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन् ।

नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा मंगलबार आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्को प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न ।’

उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
गणनास्थलमा सिसी क्यामरा जडान गर्नेबारे छलफल भइरहेको, एउटा सिफ्टमा कर्मचारी र दलका प्रतिनिधि पनि नफेरी मतगणना गरिने, र गणनास्थलमा मोबाइल, ल्यापटप लगायतका कुनै पनि उपकरण लैजान नपाउने व्यवस्था गरिँदैछ ।

मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । रासस

Share It

Post Comments
थप विशेष