विशेष सर्लाहीमा निर्वाचनको तयारी पूरा
Ujyaalo

सर्लाही, मंसिर १९ – सर्लाहीमा बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावको तयारी पूरा भएको छ । मतदान गराउन खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, स्वंयसेवक, सुरक्षाकर्मी र अन्य कर्मचारी आ आफ्नोे मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका जस्ता ६४ किसिमका मतदान सामाग्री जिल्लाका ३ सय १८ मतदान स्थलका ५ सय १६ वटै मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चुनावका लागि जिल्लामा ४ हजारको हाराहारीमा कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा पुगेका कर्मचारीले नयाँ मतदाताको परिचय पत्र वितरण, बुथ निर्माण, निषेधित क्षेत्र घोषणा, स्थानीय दलका प्रतिनिधीसँग समन्वय गर्ने जस्ता काम गरिरहेका मुख्य निर्वाचन अधिकृत राजेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

मंगलवार साँझ सम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन्, मुख्य निर्वाचन अधिकृत काफ्लेले भन्नुभयोे, ‘तयारीको काम अब सकियो, अब मतदान गराउन मात्रै बाँकी छ । ’

सुरक्षा व्यवस्था कडा

चुनावलाई लक्षित गरि सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

मतदान केन्द्रको संवेदनशीलता हेरेर आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सर्लाहीमा मंगलवार देखि मतदान केन्द्र लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा सदरमुकाम मलंगवा समेत पर्ने क्षेत्र नम्बर २ र ४ संवेदनशील मानिएको छ । त्यसै अनुसार यस निर्वाचन क्षेत्रमा विशेष सतर्कता अपनाइएको सुरक्षा प्रमुखहरुले बताएका छन् ।

Share It

Post Comments
थप विशेष