विशेष सडक किनारका प्रचार सामग्री हटाइए
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, मंसिर १९ –विराटनगर महानगरपालिका भित्र दलहरुले आचारसंहिता विपरीत राखेका झण्डा तथा तुलहरु क्षेत्रीय निर्वाचन कार्यालयले हटाएको छ ।

प्रहरीसहित निस्किएको निर्वाचन कार्यालयको टोलीले बजार भरी टाँगिएको तुल ब्यानरहरु हटाएको हो । जिल्ला प्रशासन कार्यालयबाट आचारसंहिता विपरीतका सामग्री हटाउने कार्य सुरु गरेर पुष्पलाल चोेकसम्मका सबै सार्वजनिक स्थलमा राखिएका सामग्री हटाएको हो ।

त्यस्तै कन्चनबारी, विराटनगर महानगरपालिका ५ कोचाखालबाट एक सय किलो भन्दा बढी प्रचार सामग्री निकालिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन अधिकारी प्रेम प्रसाद सञ्जेलले आचारसंहिता विपरीतका सामग्रीहरु चारै सुरक्षा निकाय र स्थानीय प्रशासन समेतको सहयोगमा हटाइएको जानकारी दिनुभयो ।

सोमबार रातिदेखि मौन अवधि सुरु भए पनि दलहरुले चुनावी प्रचारप्रसारका कार्य गर्न नपाउने भए पनि निर्वाचन कार्यालयले अनुगमन गर्दै सार्वजनिक स्थानमा राखिएका प्रचार सामग्री हटाएको हो । सार्वजनिक स्थलमा प्रचार सामग्री राख्नु आचारसंहिता विपरीत हुने र त्यसले मतदातालाई प्रभावित पार्ने आयोगको भनाई छ ।

Share It

Post Comments
थप विशेष