विशेष सप्तरीको कोचाबखारीका डोम समुदायलाई चुनावले छोएन
Ujyaalo

शुभ नारायण यादव/उज्यालो ।

सप्तरी, मंसिर २० – सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ को डोम समुदायका बासिन्दालाई अहिले पनि चुनावले छुन सकेको छैन ।
दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव मंसिर २१ गते बिहीबार ४५ जिल्लामा हुन लागे पनि कोचाबखारीका डोम समुदायलाई आफ्नो गास र बासका लागि बाँसको विभिन्न सामग्री बनाउने र बिक्री वितरणबाट आफ्नो गुजारा गर्ने मात्र चिन्ता छ ।

चुनावको भन्दा आफूहरुलाई कसरी आफ्नो परिवारको गुजारा चलाउने चिन्ताले पिरोलेको कोचाबखारीका डोम सिफैत मरिक डोमले बताउनुभयो । चुनावमा जुनसुकै उम्मेदवार जितेपनि आफूहरुलाई एक छाक पनि टार्न सजिलो नहुने बताउँदै मरिक डोमले चुनावका दिन जसलाई मन लाग्यो त्यसलाई मत दिने र त्यो बाहेक चुनावको कुनै मतलब नरहेको बताउनुभयो ।

‘विगतका चुनावमा पनि उम्मेदवारले डोम समुदायको पुनर्स्थापनाका लागि घर बनाइदिने, जग्गा उपलब्ध गराइदिने जस्ता प्रतिबद्धता जनाएका थिए । तर चुनाव जितेर गएपछि मुख देखाउन आएनन्’ मरिक डोमले भन्नभया ‘हामीलाई यस्तो आश्वासनबाट अब विश्वास नै लाग्न छाडेको छ । त्यसैले जसले बसोबासको ग्यारेन्टी गर्छ, जग्गा उपलब्ध गराइदिन्छ, उसैलाई भोट हाल्ने निधो गरेका छौं ।’

कोचाबखारीमा झण्डै बाह्र घर परिवारको बसोबास छ । डोम समुदायको बस्तिमा अहिलेसम्म बिजुली समेत पुग्न सकेको छैन् । ‘अहिलेसम्म आफूहरुको टोलमा विद्युत जडान नभएका कारण टुकी बालेर बस्नु परेको छ’ शिव नारायण मरिकले गुनासो गर्नुभयो ‘शौचालय निर्माणका लागि समेत पटक पटक दबाब आउने गरेको छ । पेटै काटेर भए पनि चर्पी बनाउने थियौं, तर जग्गा नै नभएपछि कहाँबाट र कसरी बनाउने चर्पी ?’

कोचाबखारीका डोम समुदायमा कसैको नाममा पनि जग्गा नरहेको स्थानीय शिव नारायण मरिकले बताउनुभयो । मरिकका अनुसार डोम समुदाय ऐलानी जग्गामा बसिरहेका छन् । गरिबीका कारण एक छाक टार्नका लागि अर्काकोमा काम गर्दै आएका त्यस ठाउँका डोम समुदायलाई अहिलेको जाडो कसरी कटाउने भन्ने चिन्ता समेत थपिएको छ । ‘केटाकेटी, वृद्धवृद्धा र सुत्केरी समेतको आङमा गतिलो लुगा नहुँदा चिसोबाट बच्न समेत समस्या परेको अर्का स्थानीय उमेश मरिकले बताउनुभयो । उमेशले आफूहरुलाई सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको भन्दै दुखेसो पोख्नुभयो ।

Share It

Post Comments
थप विशेष