विशेष दैलेखमा मोवाइल फोन अवरुद्ध, चुनावका सूचना व्यवस्थापनमा समस्या
Ujyaalo

अमर सुनार/उज्यालो ।

दैलेख, मंसिर २० – खराब मौसमका कारण दैलेखको पश्चिम क्षेत्रको अधिकांश ठाउँमा सञ्चार अवरुद्ध भएको छ । सबै ठाउँमा विद्युत नपुगेको दैलेखका केही ठाउँमा सोलार प्यानलले चार्ज गर्ने गरी नेपाल टेलिकम र एनसेलका बिटिएस टावरमा पावर सप्लाई नै नभएपछि मोवाइल नेटवर्क पूर्ण रुपमा बन्द भएको हो ।

घाम नलागेर सोलार चार्ज हुन नसकेपछि दैलेखको पश्चिम क्षेत्रका आठबीस नगरपालिका, ठाँटीकाँध गाउँपालिका, पूर्वी क्षेत्रका नौमूले र भगवतीमाई गाउँपालिकाको पूरै भाग सञ्चार सम्बन्ध विच्छेद भएको छ । दुल्लु नगरपालिका, महाबु, भैरवी र गुराँस गाउँपालिकाको आंशिक क्षेत्रमा समेत बादल लागेसँगै मोवाइल फोन चल्न सकेको छैन । मोवाइल, फोन नचल्दा चुनावका लागि सूचना व्यवस्थापन प्रभावित भएको छ ।

उपभोक्तालाई त असुविधा भएकै छ नै, मोवाइल सेवा समेत अवरुद्ध भएपछि निर्वाचन आयोगले खटाएको मतदान टोली मतदान स्थलमा पुगी सकेपछि पनि त्यहाँ तयारीका कामको निर्वाचन अधिकृतको कार्यालयलाई खबर गर्न सकेका छैनन् । आठबीस नगरपालिकाको राकमबजारका मतदान अधिकृत बिष्णु जैसी र बेरु पाटाका रेवन्त रावलले १७ गते नै मतदान केन्द्रमा पुगेको जानकारी बाहेक अरु खबर नपाएको बताउनुभयो ।

मतदान केन्द्रमा पुगेको, सर्वदलीय बैठक बसेको, मतदान केन्द्रको ४ किल्ला तोक्ने, मतदान स्थलको निर्माण सकिएको लगायतका ११ वटा गधिविधिको सूचना मतदान अधिकृतले मोवाइलबाट एसएमएस गर्ने तथा निर्वाचन आयोगले तयार पारेको एप्सबाट सूचना संकलन कार्य प्रभावित भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भन्नुभयो ‘निर्वाचन आयोगको इसीएन एप्सबाट एसएमएस गर्ने तरिका सिकाएका थियौं तर मोवाइल नेटवर्क नै अवरुद्ध भएपछि सूचना अध्यावधिक गर्ने मुश्किल भयो ।’ कुल १ सय ९६ मतदान केन्द्र मध्ये विद्युत सुविधा पुगेका सदरमुकाममा र दुल्लू आसपासका १ सय भन्दा कम मतदान केन्द्रबाट मात्र सूचना अध्यावधिक भएको पौडेलले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा भइरहेको कामको सूचना सञ्चारमै कठिनाई भएको दैलेख क्षेत्र नं. २ का निर्वाचन अनुगमन प्रमुख रामप्रसाद भट्टराईले स्वीकार गर्नुभयो । मोवाइल सेवा अवरुद्ध हुँदा टेलिफोनबाट संवाद गर्न नसकिए पनि सबै मतदान केन्द्रमा प्रहरी सञ्चारले संकलन गरेको सूचना जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराइएको अनुगमन प्रमुख भट्टराईले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष