विशेष भोलि चुनावको दिन कहाँ कहाँ पानी पर्ने सम्भावना ?
Ujyaalo

काठमाडौं, मंसिर २० – बिहीबार मतदान हुने ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । अरब सागरमा रहेको शक्तिशाली सामुद्रिक चक्रवातका कारण बिहीबार देशभरिकै मौसम बदली भई ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

तर ठूलो पानी वा झरीको संभावना भने नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई र तीन नम्बर प्रदेशको मौसम भने आशिंक बदली हुनेछ ।

भोलि कहाँको मौसम कस्तो ?

दक्षिणपूर्वी अरब सागरमा रहेको शक्तिशाली सामुद्रिक चक्रवात ओकीको कारण मंगलबारदेखि नै धेरै ठाउँको मौसम बदली भइ केही ठाउँमा हल्का पानी पर्नुका साथै हल्का हिमपात पनि भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित दिपायल, डडेलधुरा, धनगढी, विरेन्द्रनगर, नेपालगन्ज, जुम्ला र जोमसोम आसपासका केहि ठाउँमा हल्का पानी परेको छ ।

यस्तै हिमाली तथा पहाडी क्षेत्रमा हिमपात पनि भएको छ । यो चक्रवात बिस्तारै कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भएको छ । तर यसको असर अझै एक दुई दिन रहने भएकाले पर्वतारोहणको लागि नजान मौसमविद् प्रधानाङको सुझाव छ ।

बिहीबार बेलुकासम्ममा सबैतिरको मौसम खुल्दै जाने उहाँको अनुमान छ । भोलि देशका धेरै ठाउँको मौसम सामान्यतया बदली भई हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको उहाँले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप विशेष