विशेष आफैलाई भोट दिन नपाउने ‘अभागी’ शीर्ष र चर्चित नेता
Ujyaalo

काठमाडौं, मंसिर २० –एक मतले जीतहारको निर्णय हुने चुनावमा यस पल्ट केही शीर्ष र चर्चित नेता छन् जस्ले आफूले आफैलाई भोट दिने अवसर र भाग्य गुमाएका छन् । वा आफ्नो भाग्य आफै निर्धारण गर्ने अवसरबाट वञ्चित भएका छन् । यस्ता अभागी नेताको सूची लामो छ । यस्ता नेता हरेक पार्टीमा छन् । नेकपा एमाले र नेपाली कांग्रेसदेखि लिएर माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका चर्चित र शीर्ष नेताले यो पटक आफूलाई भोट दिन पाउने छैनन् ।

केपी शर्मा ओली

आफूलाई आफैले मत दिन नपाउने अभागी नेताको सबैभन्दा माथिल्लो सूचीमा पर्नुहुन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । भक्तपुरका मतदाता ओली यो पाली झापा ५ बाट उम्मेदवार हुनुहुन्छ । बाम गठबन्धनलाई जिताएर प्रधानमन्त्री हुने अभियानमा सामेल ओलीको मतदाता नामावली भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका —२ मा छ । उहाँले मतदान गर्ने क्षेत्रमा एमालेका महेश बस्नेत उम्मेदवार हुनुहुन्छ ।

महन्थ ठाकुर

अहिलेसम्म सर्लाहीलाई राजनीतिक मैदान बनाएर मधेश आन्दोलन हाँकेका राजपाको अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर यो पालि छिमेकी जिल्ला महोत्तरीबाट चुनाव लड्दै हुनुहुन्छ । मतदाता सूचीमा उहाँको नाम सर्लाहीको बलारा नगरपालिकामा छ । आफूले आफैलाई भोट हाल्न नपाउने शीर्ष र चर्चित नेतामा ओलीपछि ठाकुरको नाम आउँछ । उहाँले यो पल्टको चुनावमा आफैलाई भोट हाल्न पाउनुहुन्न ।

उपेन्द्र यादव

मोरङ जिल्लाको विराटनगर महानगरपालिका —१४ जतुवामा छ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली । तर पटकपटक सुनसरीबाट चुनाव लडेका उपेन्द्र यादव यो पल्ट कोशी पश्चिमको सप्तरीबाट उम्मेदवार हुनुहुन्छ । यस पटकको चुनावमा आफैलाई भोट दिन नपाउने पार्टी अध्यक्षको सूचीमा के.पी. शर्मा ओली र महन्थ ठाकुर पछि हुनुहुन्छ उपेन्द्र यादव ।

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलमा रहेका तथा मधेश आन्दोलनका नेता राजेन्द्र महतोको मतदाता नामावली सर्लाही चन्द्रनगर नगरपालिका —२ मा छ । तर, महतो यस पटकको चुनावमा धनुषा —३ बाट उम्मेदवारी दिएर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिसित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सधै सर्लाहीबाट चुनाव लड्दै आएका महतो यो पल्ट धनुषाबाट उम्मेदवार भएकाले आफ्नो मत आफैलाई दिन नपाउने चर्चित नेतामा पर्नुहुन्छ ।

माधवकुमार नेपाल 

काठमाडौंको कोटेश्वरका स्थायी बासिन्दा भैसकेपछि पनि नेकपा एमालेका नेता माधव नेपालको नाम रौतहटको मतदाता सूचीमा छ । नेपाल यो पाली काठमाडौं —२ बाट उम्मेदवार हुनुहुन्छ । यस अघि रौतहट र काठमाडौ दुबै ठाउँबाट उम्मेद्वार भएर चुनाव लड्दै आएका नेता नेपालको नामरौतहट जिल्लाको गौर नगरपालिकामा छ । सधै आफूलाई भोट हाल्दै आएका नेता नेपालले यो पल्ट आफैलाई भोट दिन पाउनुहुन्न ।

दमननाथ ढुंगाना

भक्तपुर जिल्लाको २ नम्बरबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नेता दमननाथ ढुंगाना पनि आफुले आफैलाई भोट हाल्न नपाउने चर्चित नेताको सूचीमा पर्नुहुन्छ । लामो समयदेखि राजनीतिमा थकाई मारेर बसेपछि अहिले भक्तपुर —२ बाट उम्मेदवार भएका ढुंगानाको मतदाता नामावली काठमाडौं —२ मा छ । उहाँ नेकपा एमालेका महेश बस्नेतको प्रतिस्पर्धी हुनहुन्छ ।

कृष्णबहादुर महरा

रोल्पालाई राजनीतिको कर्मथलो बनाएका माओवादी नेता कृष्णबहादुर महरा यो पटक दाङ —२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । तर, महराको मतदाता नामावली रोल्पामा भएकाले यसपटक आफैलाई भोट दिन पाउनुहुन्न । रोल्पाको लिवाङ नगरपालिका —१, तारा मावि केन्द्रमा नाम रहेकाले उहाँ आफूलाई भोट हाल्नबाट यो पटक वञ्चित हुनु परेको छ ।

सुरेन्द्र कार्की

माओवादी नेता सुरेन्द्र कार्कीको मतदाता नामावली काठमाडौंमा छ । तर, उहाँ झापा —१ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले पनि आफैलाई भोट दिन पाउनुहुन्न ।

झक्कुप्रसाद सुवेदी

माओवादी नेता झक्कुप्रसाद सुवेदीले पनि आफैलाई भोट हाल्न पाउनुहुन्न । सुवेदीले काठमाडौं —६ बाट उम्मेदवारी दिनुभएको छ । तर, उहाँको मतदाता नामावली रोल्पामा छ ।

आरजु राणा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कैलाली —५ बाट उम्मेदवारी दिनुभएको छ । तर, मतदाता नामावलीमा उहाँको नाम डडेल्धुरामा भएकाले उहाँ पनि आफूलाई भोट हाल्ने अवसरबाट वञ्चित हुनुहन्छ ।

डा. मीनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालको नाम विराटनगर महानगरपालिका —१ मा छ । तर उहाँ मोरङ —२ बाट पहिलोपल्ट चुनाव लड्दै हुनुहुन्छ ।

हारे अपजस आफैलाई

यी त भए केही चर्चित र शीर्ष नेता जो आफ्नो भोट अरुलाई दिनुपर्ने बाध्यतामा छन् । तर आफ्नो मत आफै नि नपाउने नेताहरुको सूची लामै छ, जो यसपल्ट उम्मेदवार छन् ।
चुनावमा हारजितको लागि एउटै मतले पनि ठूलो भूमिका खेल्छ । त्यसमाथि उम्मेदवार आफ्नै मत सबैभन्दा विश्वासिलो हुन्छ । तर बिहीबार हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका यी नेताले यसपटक आफैलाई भोट हाल्न नपाएर हारे भने हारको अपजस पनि आफैले बोक्नु पर्नेछ ।

 

Share It

Post Comments
थप विशेष