विशेष सर्लाहीमा बढ्यो चुनावी चर्चा, तीन गठबन्धनबीच प्रतिस्पर्धा
Ujyaalo

सर्लाही, मंसिर ६ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै सर्लाहीमा चुनावी माहोल बढेको छ । आउँदो २१ गते हुने प्रतिनिधिसभाको लागि ४ र प्रदेशसभाको लागि ८ निर्वाचन क्षेत्र रहेको सर्लाहीमा मुख्य तीन गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।


नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन, एमाले-माओवादीको वाम गठबन्धन र मधेस केन्द्रित दलका गठबन्धनबीच कडा चुनावी टक्कर हुने भएको हो । चुनाव नजिकिएसँगै नेता राजधानी र सदरमुकाम छोडेर चुनावी घोषणा पत्र बोकेर भोट माग्न मतदाताको घर दैलोमा पुग्न थालेका छन् ।


उम्मेदवारहरु अहिले तिहारको देउसीभैलो खेल्न जसरी नै मतदाताका घरमा मत माग्न हुलकाहुल आउन थालेका हुन् । ठूला दलका उम्मेदवारहरु ठूलै झुण्डमा आउने र साना दलका उम्मेदवारहरु अली फरक शैलीमा भोट माग्न आउने गरेको मुर्तियाका मतदाता अम्बरबहादुर मैनालीले बताउनुभयो ।


भोट माग्न आएका उम्मेदवारसँग मतदाताले छोराछोरी नागरिकता नभएको, बाढीले घर भत्काएको, नदीले खेतबारी कटाना गरेको, हुलाकी सडक बिग्रिएको, विदेशमा कमाउन गएको छोरा उतै अलपत्र परेको गुनासो सुनाउने गरेका छन् ।


भोट माग्न आउँदा उम्मेदवारले नमस्कार गर्ने र माग पूरा गरिदिने आश्वासन दिए पनि चुनाव जितेर गएपछि फर्किएर गाउँ नआउने गरेको हरिपुरका मतदाता रामप्रवेश महतोले गुनासो गर्नु भयो । उहाँको गुनासो त्यतिमात्र हैन आफूले २०६४ सालमा नागरिकता टोली आउँदा जन्मसिद्ध नागरिकता बनाएको भए पनि अहिलेसम्म आफ्ना छोराछोरीको नागरिकता नभएकाले बिदेश जान नपाएको उम्मेदवारसँग गुनासो गर्नुभयो । चुनावी माहोल तातिँदै जाँदा उम्मेदवारसँग मतदाताको माग पनि बढ्दै गएको छ । मतदातले लखन्देही नदीले खेतियोग्य जग्गा कटान गरेको, जंगल छेउको जग्गामा जंगली जनावर हरीण, बदेल, बाँदरले दुःख दिएको गुनासो गरेका छन् । उम्मेरदवारहरु अहिले दिन रात नभनेर मतदातासँग भोट माग्न व्यस्त छन् ।

 

Share It

Post Comments
थप विशेष