विशेष श्रीमतीलाई पनि भोट दिन गएनन्, काठमाडौंमा बसेर टिभी हेर्दै मोहनविक्रम
Ujyaalo

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, मंसिर २१ –नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती दूर्गा पौडेल प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार हुनुहुन्छ ।

लामो विवादपछि प्यूठानमा जनमोर्चाले माओवादी र एमालेको साथ पायो । सुरुमा मोहनविक्रम सिंह उम्मेदवार बने मात्रै समर्थन गर्ने अडान लिएका एमाले र माओवादीले अन्तिम समयमा सिंहकी श्रीमती दूर्गालाई समर्थन गरेका हुन् ।

श्रीमती नै उम्मेदवार भए पनि अर्धभूमिगत रहेका मोहनविक्रम सिंह श्रीमतीको लागि भोट माग्न प्यूठान जानुभएको थियो । श्रीमतीलाई जिताउन कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानमा समेत लागेका सिंहले आफ्नै श्रीमतीलाई भने भोट दिन जानुभएन । उहाँ मतदानको दिन काठमाडौंको बनस्थलीमा रहेको निवासमा बसेर देशैभरीको चुनवी गतिविधि हेरिरहेको उहाँका सहयोगीले उज्यालोलाई जानकारी दिनुभयो ।

‘उहाँले आफू नै उम्मेदवार हुँदा त मत हाल्नुभएन, अहिले म उठ्दा पनि उहाँ भोट हाल्न आउनुभएन’ सिंहकी श्रीमती दूर्गा पौडेलले उज्यालोसँग भन्नुभयो, ‘उहाँले मेरो लागि चुनावी अभियानमा भाग लिनुभयो तर भोट चाहिँ हाल्नुभएन ।’

सिंह चुनावी प्रचार सकेर मंसिर १८ गते प्यूठानबाट काठमाडौं आउनुभएको थियो । महामन्त्री सिंहले अहिले आफ्नै श्रीमतीलाई मात्रै भोट नहालेको होइन, आफै उम्मेदवार रहँदासमेत उहाँले भोट हाल्नुभएको थिएन ।

सिंह पहिलो पटक विक्रम संवत २०१५ मा भएको संसदीय चुनावमा तत्कालीन क्षेत्र नम्बर ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदका उम्मेदवार हुनुहुन्थ्यो । त्यसबेला उहाँ एक हजार २ सय मत अन्तरले पराजित हुनुभएको थियो । उहाँको मतदाता नामावली भने झिमरुक गाउँपालिकाको बाल शिक्षा उच्च मावि ओखरकोटमा रहेको छ ।

 

Share It

Post Comments
थप विशेष