विशेष प्यूठानमा एकै घरका चार जना किरियापुत्रीले भोट हाले
Ujyaalo

एलबी थापा/उज्यालो ।

प्यूठान, मंसिर २१ –प्यूठानमा किरियापुत्रीले मतदान गरेका छन् । बागेश्वरी महिला सहकारी खरिबोट मतदान केन्द्रमा ४ जना किरियापुत्री र उहाँका श्रीमतीले मतदान गरेका हुन् ।

स्वर्गीय बुवा डोरबहादुर खड्काको किरिया बसेका थानेश्वर खड्का, गिरीराज खड्का, दिलिप खड्का र धनराज खड्काले मतदान गरेको मतदान अधिकृत विशाल सुवेदीले जानकारी दिनुभयो ।
यस्तै उहाँहरुका श्रीमती मेनका, सेतीदेवी, शर्मिला र पार्वता खड्काले पनि मतदान गरेका हुन् । खड्काको ९ दिनअघि निधन भएको थियो ।

प्यूठान जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अति संवेदनशील जिल्लाको रुपमा रहेको प्यूठानमा सुरक्षा व्यवस्था अति कडाई पारिएको र अहिले सम्म छिटपुट घटनासमेत नभएको प्रमुख जिल्ला अधिकारी डाक्टर कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा महिलै महिलाको नमुना मतदान केन्द्र बनाइएको छ । यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीसमेत महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप विशेष