विशेष कैलाली–४ मा दुई गठबन्धनलाई स्वतन्त्रको चुनौती
Ujyaalo

नवराज पनेरु/उज्यालो ।

कैलाली, मंसिर ६ – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता लेखराज भट्टको क्षेत्र हो, कैलाली निर्वाचन क्षेत्र नम्वर ४ । अहिले उहाँ वाम गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ । उहाँसंगै नेपाली काग्रेसका पाका नेता सुनिल कुमार भण्डारी पनि चुनावी मैदानमा हुनुहुन्छ । दुई गठबन्धनलाई स्वतन्त्र उम्मेदवार गीता राणा क्षेत्री चुनौती बन्नुभएको छ ।

तत्कालीन नेपाल लोकतान्त्रिक फोरमकी उपाध्यक्ष तथा पूर्व सासंद गीता राणा सधैं एन्फामा गणेश थापाको विकल्पमा चर्चामा रहने नाम हो । गणेश थापालाई सबैभन्दा पहिले चुनौती दिने व्यक्ति पनि गीता राणा नै हुन् । शिक्षण पेशामा लामो योगदान गर्नुभएकी राणाले यसअघि नै एन्फाको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

नेपाल लोकतान्त्रिक फोरमबाट समानुपातिक सभासद बन्नु भएकी राणा क्षेत्रीले सो पार्टी नेपाली कांग्रेसमा विलय भएपछि कैलाली क्षेत्र नम्वर ४ मा प्रतिनिधिसभाको लागि टिकट माग गर्दै आउनु भएको हो । तर नेपाली कांग्रेसले सुनिलकुमार भण्डारीलाई टिकट दिएपछि उहाँले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो । पार्टीहरुले महिलाहरुलाई कम क्षेत्रमा मात्रै उम्मेदवार वनाएकोमा गीता राणा क्षेत्रीले कैलाली क्षेत्र नम्वर ४ को समग्र विकास, पूर्वाधार निर्माणलाई प्राथमिकता दिने, स्थानीय बासिन्दालाई आत्मनिर्भर स्वावलम्वन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा आमुल परिवर्तन गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको छ । उता दुई वाम गठबन्धन लोकतान्त्रिक र वामले भने आफू जित्ने दाबी गर्दै आएका छन् ।

गौरीगंगा र गोदावरी नगरपालिका, चुरे गाउँपालिका–६ र मोहन्याल गाउँपालिकाको एउटा वडा समेटेर बनाइको निर्वाचन क्षेत्र नम्वर ४ मा यसपाली कसले बाजी मार्ला भन्ने विषयले पनि चर्चा पाएको छ । निर्वाचन क्षेत्र नम्वर ४ मा रहेका ३१ वटा वडामा स्थानीय चुनावको नतिजा हेर्दा वा गठबन्धनका दुबै दलको मत कांग्रेस, फोरम र राप्रपाको भन्दा झण्डै १० हजार मत धेरै छ । यहाँ माओवादी र एमालेको ३० हजार मत पुग्छ भने कांग्रेसले १६ हजार ७ सय ५० मत ल्याएको थियो भने फोरम लोकतान्त्रिकले पाएको ७ सय ७९ र राप्रपाको १ हजार ५ सय मत जोडदा पनि कांग्रेसको पक्षमा जम्मा १९ हजार मत मात्रै हुन्छ ।

वाम गठबन्धका उम्मेदवार भट्टले २०६४ सालमा जितेको क्षेत्र भएपनि उहाँले नै २०७० सालमा काग्रेसका दीर्घराज भाटसँग पराजय भोग्नु परेको थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा डोटीबाट बसाई सराई आएकाहरुको भोट पनि निर्णायक मानीदै आएको छ तर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका दुबै जना उम्मेदवार डोटीबाटै बसाई सरेर आएकाले भोट बाँडिने देखिएको छ ।

काठमाडौंमा ग्यालेक्सी स्कूल सञ्चालन गर्दै आउनुभएकी राणा स्थानीय स्तरमा राना र थारु समुदायमा राम्रो प्रभाव राख्ने नेतृको रुपमा चिनिदै आउनुभएको छ । यस्तै विवेकशील साझा पार्टीको तर्फबाट बिनोद मल्लको उम्मेदवारीको पनि कैलाली निर्वाचन क्षेत्र नम्वर ४ मा चर्चा छ ।

Share It

Post Comments
थप विशेष