विशेष पहिलो चरणको चुनावको मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?
Ujyaalo

काठमाडौं, मंसिर ७ – पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा बिहीबार मध्य रातिदेखि मौन अवधी सुरु हुँदैछ ।

राति १२ बजेपछि सुरु हुने मौन अवधिमा चुनाव नसकिउन्जेल राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न र संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । पहिलो चरणको चुनावको मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा भने चुनावी प्रचारप्रसार गर्न पाइनेछ ।

यसैबीच बिहीबारदेखि मतदान केन्द्रको व्यवस्थापनको काम सुरु हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो । बुधबार बेलुकासम्म सबै मतदान केन्द्रमा सुरक्षाकर्मीसहित कर्मचारी खटिइसकेका र उनीहरुले बिहीबारदेखि मतदान केन्द्रको आन्तरिक व्यवस्थापनको काम थाल्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

पहिलो चरणको चुनावका लागि झण्डै ४५ हजार कर्मचारी र ८० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको आयोगले जनाएको छ । चुनावका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेरामा सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते मतदान हुँदैछ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि हुने पहिलो चरणको चुनावमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेको निर्वाचन अयोगले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष