विशेष ४५ जिल्लामा मतदानको उत्साह : ३२ जिल्लामा मतगणनाको प्रतिक्षा
Ujyaalo

काठमाडौं, मंसिर २१ – दोस्रो चरणको चुनाव अन्तर्गत बिहीबार ४५ जिल्लामा उल्लासपूर्ण र उत्साहजक रुपमा मतदान भैरहँदा पहिलो चरणको चुनाव भएका बाँकी जिल्लामा मतगणनाको व्यग्र प्रतिक्षा भैरहेको छ ।

बेलुकी ५ बज्ने बित्तिकै मतपेटिका खोल्ने हिसाबले निर्वाचन अधिकृत र दलका प्रतिनिधि तयारी अवस्थामा छन् । सबै ठाउँको मतपेटिका संकलन भैसकेकाले ५ बज्ने बित्तिकै एकैपटक मतगणना गर्ने तयारी छ ।


पहिलो चरणको चुनाव भएका ३२ जिल्लामा १० गते मतदान भएको हो । ३२ जिल्लामा ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा १६ जना महिलासहित २८२ जना चुनावी मैदानमा छन् ।

त्यस्तै, प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा २० जना महिलासहित ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी मध्ये प्रत्यक्षतर्फको चुनावबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन् ।


प्रदेश नम्बर १ का ७ वटा, प्रदेश नम्बर ३ का ६ वटा, प्रदेश नम्बर ४ का ६ वटा, प्रदेश ५ का २ वटा, प्रदेश ६ का ७ वटा र प्रदेश ७ का ४ वटा जिल्लामा पहिलो चरणमा मतदान भएको थियो ।

प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को पूर्वी रुकुम र रोल्पा, प्रदेश ६ को पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, कालिकोट र डोल्पा तथा प्रदेश ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडीमा बेलुकी ५ बजेपछि मतगणना हुनेछ ।

 

Share It

Post Comments
थप विशेष