विशेष पहिले एकअर्कालाई देखिनसहने, अहिले नभइ नहुने !
Ujyaalo

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, मंसिर ७ – कुनै बेला एक अर्काका परस्पर विरोधी रहेका एमाले नेता राजेन्द्र पाण्डे र माओवादी नेता शालिकराम जम्मरकट्टेल अहिले सँगै एउटै मञ्चमा देखिन्छन् । त्यति मात्र होइन, एक अर्काको उछितो काढ्ने उनीहरु अहिले एकले अर्कालाई प्रशंसा गरिरहेका हुन्छन् ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका राजेन्द्रप्रसाद पाण्डे र नेकपा माओवादी केन्द्रका उम्मेदवार शालिकराम जम्मरकट्टेल २०६४ को संविधान सभाको चुनावमा प्रतिस्पर्धी थिए ।

पाण्डे धादिङको १‘क’ र जम्मरकट्टेल १ ‘ख’ बाट वाम गठबन्धनका उम्मेदवार बनेका छन् । वाम गठबन्दनका यी दुई उम्मेदवार अहिले एक अर्काका चुनावी आमसभामा सँगसँगै देखिन्छन ।

२०७० को चुनावमा जीवनपुरको चण्डीभञ्ज्याङमा नेकपा एमालेले चुनावी सभा आयोजना गरेको थियो । संविधानसभाको पहिलो चुनावमा भने यहाँ एमालेले सभा गर्न सकेकै थिएन । संविधानसभाको पहिलो चुनावमा गाउँमा एमालेले भोट माग्न घरदैलो गर्न सकेकै थिएन ।

चण्डीभञ्ज्याङको सभाका लागि केही कार्यकर्तासहित पाण्डे भिरको टाकुरामा सभा सुरु गरेपछि माओावदी कार्यकर्ताले ठूलो समूहमा आएर एक्कासी आक्रमण गरे । त्यो घटना सम्झेर त्यसै ठाउँमा यस पटक पनि चुनावी सभा आयोजना भयो । यस पटकको चुनावी सभामा पनि एमाले र माओवादी सँगै थिए । तर एक अर्काप्रति आक्रमण गर्ने उद्धेश्यले होइन, एक अर्काको समर्थनमा उनीहरु सँगै थिए । अझ पहिलो संविधानसभाको चुनावमा एकालेको चुनावी आमसभामा आक्रमण गर्नेहरु एउटै मञ्चमा थिए । एमालेलाई आमसभा नै गर्न नदिने जम्मकट्टेल र चुनावी सभा नै गर्न नसकेका पाण्डे अहिले एउटै मञ्चमा बसे ।

त्यस बेला पार्टीको निर्देशनमा पाण्डेलाई लखेटेको स्मरण गर्दै जम्मरकट्टेलले पहिलेको र अहिलेको परिस्थिती बेग्लै भएको बताउनुभयो । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल मात्रै होइन, चुनावपछि पार्टी एकता गर्ने घोषणा नै गरेका छन् ।

पाण्डे र जम्मरकट्टेल अलग–अलग क्षेत्रबाट उम्मेदवार बनेका छन् । क्षेत्र छुट्टै भए पनि उनीहरु धेरैजसो घरदैलो कार्यक्रममासमेत सँगै हुन्छन् । उनीहरु चुनावी सभामा सँगै बस्छन् र बोल्ने पालो नआउन्जेलसम्म मञ्चमा सँगै हुन्छन् र एक आपसमा खुसामारी समेत गरिरहेका हुन्छन् ।

यस क्षेत्रमा एमाले र माओवादी केन्द्र नै प्रमुख प्रतिस्पर्धीका रुपमा थिए । तर अहिले प्रमुख प्रतिस्पर्धी नै तालमेल गरेर चुनावमा उत्रिएपछि यहाँ प्रतिस्पर्धी नै नभएको बताउँछन् वाम गठबन्धनका नेताहरु ।

२०७० को चुनावमा एमालेले विजय हासिल गरेको यस क्षेत्र स्थानीयतहको चुनावमा एउटा गाउँपालिकामा माओवादी केन्द्र र एक नगरपालिकासहित ४ गाउँपालिका एमालेले जित हासिल गरेको थियो ।

स्थानीय तहको चुनावमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट वाम गठबन्धनले ५९ हजार ८ सय ६८ मत प्राप्त गरेको थियो । यस्तै लोकतान्त्रिक गठबन्धनले १४ हजार ५ सय ६५ मत प्राप्त गरेको थियो ।

स्थानीय तहको मतपरिणाम अनुसार धादिङ क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा ४५ हजार ३ सय ३ मतले पछाडि रहेको देखिन्छ ।

स्थानीय तहको चुनावको परिणामलाई हेर्दा १ को (क) मा वाम गठबन्धनको ३२ हजार १ सय ८४ मत छ । लोकतान्त्रिक गठबन्धनको ९ हजार ८ सय मत छ । यो क्षेत्रमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा २२ हजार ३ सय ८४ मतले अगाडि रहेको देखिन्छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी उम्मेदवार बन्नुभएको छ ।

पाण्डेकै मत जम्मरकट्टेललाई

यस चुनावमा राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार भए पनि आफैलाई भोट दिन भने पाउनुहुन्न । पाण्डे उम्मेदवार भएको क्षेत्रमा उहाँको मतदाता नामावली छैन । माओवादी केन्द्रका नेता जम्मरकट्टेल उम्मेदवार भएको क्षेत्रमा मतदाता नामावली भएकाले पाण्डेले उहाँलाई भोट दिनुहुन्छ ।

काग्रेसको आक्रामक शैली

चुनावको मिति नजिकिँदै गर्दा चुनावी रौनक बढेको छ । नेपाली कांग्रेसका उम्मेदवार आक्रामक रुपमा चुनावी प्रचारमा लागेका छन् । कांग्रेसले टोलटोलमा सभा गरिरहेको छ । राजेन्द्रप्रसाद पाण्डेसँग मधुकुमार श्रेष्ठ र जम्मरकट्टेलसँग पूर्व माओवादी कार्यकर्ता नेपाली कांग्रेसका उम्मेदवार

प्रभातकिरण सुवेदी (शिव सुवेदी) प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट विश्वप्रसाद अर्याल उम्मेदवार हुनुहुन्छ । आफूलाई जिताएमा जिल्लाको अनुहार नै फेर्ने र विकासको आमूल परिवर्तन गर्ने नारा कांग्रेसले अघि सारेको छ ।

 

Share It

Post Comments
थप विशेष