विशेष किरियापुत्री भन्छन् : आमासँगै भोट हाल्ने मन थियो, नरमाइलो लागिरहेको छ
Ujyaalo

प्रेमनारायण अाचार्य/उज्यालो ।

अर्घाखाँची, मंसिर २१ –अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा चार दिनदेखि आमाको किरिया बसेका किरियापुत्रीले मतदान गरेका छन ।

छ्त्रदेव गाउँपालिका वार्ड नम्बर ५ बहखोर निवासी गणेशबहादुर रायमाझी, भिमबहादुर रायमाझी, हिराबहादुर रायमाझी र खड्कबहादुर रायमाझी आफ्नी आमा बितेको कारण चारदिनदेखि कुनामा थिए ।

‘एउटा भोटको ठूलो महत्व हुन्छ र एउटै भोटको कमीले राम्रो उम्मेदवार पनि हार्न सक्छ । त्यसैले हामी भोट खसाल्न सेतो कपडामै पँधेराको चौथो दिनको किरियाक्रम सकेर भोट हाल्न आएका हौँ’ खड्कबहादुर रायमाझीले बताउनुभयो ।

उहाँले अहिलेको चुनावले देशमा स्थायी शान्ति आउने भन्दै चुनावमा आमालाई पनि लिएर आउने मन भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘आमालाई पनि सँगै आएर मतदान गर्ने मन थियो । तर के गर्ने चार दिनअघि आमाको स्वर्गारोहण भयो । निकै नराम्रो लागिरहेको छ ।’ आफूहरुले आमासँगै भोट हाल्न नपाए पनि देशको लागि केही राम्रो होस् भनेर सेतो कपडामै मतदान गर्न आएको उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष