विशेष भाइको नाममा भोट हाल्न दाइ पुगेपछि..
Ujyaalo

मंसिर २१ – नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ ।

बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो ।

बुथमा खटिएका सुरक्षाकर्मीका अनुसार सन्दिपराज कँडेलको नाममा सुदर्शन कँडेलले भोट हाल्न पुगेपछि प्रहरीले रोक्दा तनाव भएको हो । प्रहरीका अनुसार भोट हाल्न पुगेका सुदर्शनलाई रोकेपछि उनीसँगै रहेका कर्णबहादुर गेलाँले प्रहरीमाथि हातपात गर्न खोजेका थिए । त्यसपछि स्थिति थप तनाव बनेको थियो ।

सोही घटनामा जगतबहादुर माकिमलाई नियन्त्रणमा लिएर चेक गर्दा झोलामा खुकुरी फेला परेको प्रहरीले जनाएको छ । ‘खुकुरी मतदानस्थलमा रहेको दलका प्रतिनिधि सुर्य श्रेष्ठको हो’ भनेर जगतबहादुरले बताएपछि प्रतिनिधि श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।

 

Share It

Post Comments
थप विशेष