विशेष पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, ओखलढुंगा र सोलुमा मतगणना सुरु, खोटाङमा ७ बजेदेखि मात्रै
Ujyaalo

काठमाडाैं, मंसिर २१- प्रदेश नम्बर एकका ७ म्धये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । पहिलो चरणमा चुनाव भएका ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरमा मंसीर १० गते भएको मतदानको मतगणना भर्खरै सुरु भएको छ । खोटाङमा भने सातबजेपछि मात्रै मत गणना सुरु हुने भएको छ ।

सोलुखुम्बुमा ४ ठाउँमा गणना हुँदै

सोलुखुम्बुमा चार ठाउँमा मत गणना गर्न थालिएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद सुवेदीले जानकरी दिनुभयो ।

तिनिधिसभाको मतगणना जिल्ला समन्वय समितिको समिक्षालय हालमा दुई ठाउँमा र प्रदेशसभातर्फको मत गणना जिल्ला प्राबिधिक कार्यालयको भवनमा गरिएको छ ।

मतगणना आसपास सुरक्षा व्यवस्था कडा पारिएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशम बहादुर पराजुलीले जानकारी दिनुभयो । गणनास्थल आसपास बिहानै देखि चेकजाँच कडा पारिएको छ । गणना स्थल वरपर तारबारको जाली लगाइएको छ भने गणना स्थल र दलका प्रतिनिधि बस्ने ठाउँ पनि तारजालिले छुटाइएको छ ।

कुल ६९ हजार ४ सय ११ कुल मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४ सय ५१ मत खसेको छ ।

ओखलढुंगामा २ ठाउँमा

ओखलढुंगामा प्रतितिनिधीसभा र प्रदेशसभा निर्वाचनको मतगणना जिल्ला समन्वय समितिको हलमा सुरु भएको छ ।

प्रतिनिधिसभाको लिखु गाउँपालिका र प्रदेशसभा क को चिसंखुगढी गाउँपालिकाबाट मतगणना गर्न शुरु गरिएको हो । प्रतिनिधि सभाको एक ठाउँमा र प्रदेशसभा क को एक ठाउँमा मतगणना थालिएको हो । प्रदेशसभा क को सकिएपछि मात्रै ख को गर्ने दलहरुबिच सहमति भएकाने छ ।

मत गणना गर्दा छुट्टा छुट्टै गाउँपालिकाका एक एक वडाको मतपत्र मिसाएर गर्ने सहमति भएको सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराईले बताउनुभयो ।

मतगणना स्थलमा प्रवेश गर्न मुख्य निर्वाचन अधिकृतले जारी गरेको प्रवेश पास पाएका व्यक्तिले मात्र पाउने व्यवस्था गरिएको छ । सञ्चारकर्मीहरुलाई प्रवेश पास दिइएको छ । तर लामो समय बस्न अनुमति दिइएको छैन । आलो पालो गरेर समाचार सम्प्रेशणका लागि संचारकर्मीलाई सहजीकरण गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कार्यवाहक अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

ओखलढुंगामा प्रतिनिधि सभाका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान सांसद यज्ञराज सुनुवार र काँग्रेसका युवा नेता निर्वतमान सांसद रामहरि खतिवडाबीच मुख्य प्रतिस्पर्धा रहेको छ भने प्रदेश सभा क मा काँग्रेसका मित्रसेन दाहाल र एमालेका अम्बिरबाबु गुरुङ, ख मा काँग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवार र माओवादी केन्द्रका मोहनकुमार खड्काबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

भोजपुरमा तीन समूहमा मत गन्ती

भोजपुरमा तीन वटा समुह बनाएर मत गणना सुरु भएको छ । जिल्ला अदालतको कार्यालयमा प्रतिनिधि सभाको एक ठाउँमा र प्रदेश सभाको दुई ठाउँमा मतगणना गर्न थालिएको हो । प्रदेशसभा क र ख को छुट्टाछुट्टै ठाउँमा मतगणना सुरु भएको छ । मतगणना गरिने ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलमा रहने दलका प्रतिनिधिहरुका लागि तारको घेराबारा लगाइएको छ । मतगणनाको अन्तिम नतिजा आउन एक हप्ता लाग्ने निर्वाचन अधिकृत इङ्गनामले जानकारी दिए ।

 

संखुवासभा : तारजालीभित्र कर्मचारी

प्रतिनिधिसभा र प्रदेशसभाको तीनठाउँमा मतगणना थालिएको छ । मतको सुरक्षाका लागि कर्मचारी तारजाली भित्र र दलका प्रतिनिधि तारजाली बाहिर बस्ने ब्यावस्था गरिएको छ । मतगणनास्थलमा सिसी क्यामेरा समेत जडान गरिएको छ ।

पाँचथर : गन्ती ब्याडमिण्टन हलमा

पाँचथरको जिल्ला समन्वय समितिको व्याटमिन्टन खेल्ने हलमा मतगणना सुरु भएको छ । दुई वटा समुहले मतगणना थालेका छन् । प्रतिनिधिसभाको एक ठाउँमा र प्रदेशसभाको दुई ठाउँमा मतगणना भैरहेको हो । मतपरिणाम २३ गते विहान आइसक्ने कार्यलयको भनाई छ । सबै मतपरिणाम आउन २६ गतेसम्म लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताप्लेजुङ : अन्तिम परिणाम भोलिसम्ममा

ताप्लेजुङमा चार ठाउँमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभाको मतगणना दुई ठाउँमा र प्रदेश सभाको एक एक ठाउँमा मतगणना सुरु भएको हो । दलका प्रतिनिधिलाई डोरिभन्दा बाहिर राखिएको छ । ओरिपरि काठको बार लगाइएको छ । २ दिन भित्रमा मतगणना सकिने मुख्य निर्बाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा ७८ हजार ३ सय ९७ रहेकोमा ५१ हजार ७ सय ४३ मत खसेको छ ।

प्रदेश सभाको क्षेत्र नम्बर (क) मा २९ हजार १६ मत खसेको छ भने, (ख) मा २२ हजार ७ सय २७ मत खसेको निर्बाचन कार्यालयले जनाएको छ ।

खोटाङ : बाकस खोल्ने तयारी

खोटाङमा ७ बजेदेखि मात्रै मतगणना थालिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका चार वटा कोठामा मत गणना गर्ने तयारी गरिएको छ । दुई वटा कोठामा प्रतिनिधिसभाको र एउटा कोठामा प्रदेशसभा (क) र अर्को कोठामा प्रदेशसभा (ख) को मत गणना गरिने सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताउनुभयो । मत गणना स्थलको सुरक्षाका लागि तार जालीले बारिएको छ । उम्मेद्वारका चार जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

गणनामा सहभागी हुने उम्मेद्वारका प्रतिनिधिलाई तार जालीभन्दा बाहिर राखिने मूख्या निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । प्रत्यक्षतर्फको मत गणनापछि मात्र समानुपातिकतर्फको मत गणना गरिने जनाइएको छ । हरेक दुई घण्टामा मत गणनाको पछिल्लो परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ । खोटाङमा ७१ हजार ३ सय ११ मत खसेको छ ।

 

 

Share It

Post Comments
थप विशेष