विशेष रसुवा, रामेछाप, सिन्धुपाल्चोक र धादिंगमा मत गन्ती सुरु, दोलखामा अन्यौल
Ujyaalo

काठमाडौ, मंसीर २१ – प्रदेश नम्वर ३ का १३ जिल्लामध्ये पहिलो चरणमा चुनाव भएका ६ जिल्लामध्ये तीन जिल्लामा बेलुका ५ बजेदेखि मतगणना शुरु भएको छ ।

रसुवा, रामेछाप, सिन्धुपाल्चोक र धादिङगमा मत गणना सुरु भएको छ भने नुवाकोटमा २ घण्टापछि ७ बजेदेखि मत गणना गर्ने तयारी छ । दोलखामा भने मत गणना आजै शुरु हुने हो कि होईन भन्ने कुरा अझै निर्णय भैसकेको छैन । यी ६ जिल्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव भएको हो ।

रसुवामा बेलुका ५ बजेबाट मतगणना सुरु भएको हो । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुरु भएको छ । गठनाका लागि रसुवामा बिहानै सर्वदलिय बैठक भएको थियो । रसुवामा ३२ हजार ३ सय २२ मतदाता रहेकोमा २६ हजार १ सय मत खसेको छ ।

यस्तै, सिन्धुपाल्चोकमा पनि मतगणना ५ बजेबाट गणना सुरु गरिएको ।मतगणना जिल्ला कृषि विकास कार्यालयमा भैरहेको छ । मत गणनास्थललाई तारजालीले घेरेरसुरक्षित पारिएको छ ।

धादिङगमा दुई क्षेत्रको गणना २ ठाउँमा गर्न थालिएको छ । जिल्ला समन्वय समितिको भवन र भूसंरक्षण कार्यालयमा मत गणना सुरु भएको हो । बेलुका ५ बजेबाट मत गणना शुरु गर्नु अघि नै मतगणनास्थलको ३ सय मिटर वरपर निषेधित क्षेत्र कायम गरिएको छ ।

रामेछापमा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विहान सर्वदलिय बैठक बसेर मतगणना आजैबाट थाल्ने सहमति भएको थियो ।

नुवाकोटमासर्वदलिय बैठक बसेर आजै मतगणना सुरु गर्ने निर्यण भएको छ । तर दलका प्रतिनिधिका लागि पास र अरु तयारी बाँकी रहेकाले साँझ ७ बजेबाट गणना सुरु गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

दोलखामा भने आज मतगणना सुरु हुने नहुने अन्यौल छ । गौरीशंकर गाउँपालिकाका केही मतदान केन्द्रमा धाँधली भएको भन्दै नेपाली काग्रेसले पुन मतदानको माग गरेर जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएकोले मत गणना कहिले सुरु गर्ने भन्ने निर्णय भैसकेको छैन ।

 

Share It

Post Comments
थप विशेष